खुदुनावारीमा एकिकृत घुम्ती शिविर सम्पन्न

कृषि पर्यावरण समाचार स्थानीय

अर्जुनधारा / झापाको अर्जुनधारा नगरपालिका वडा नं. १,२ र ३ लाई लक्षित गरी एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिकाको आयोजना जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा एकिकृत घुम्ति शिविर सञ्चालन भएको हो । शिविरमा वडा नं. १,२ र ३ का करिव २५ सय सर्वसाधारणले सेवा लिएका छन ।

शिविरमा नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, निशुल्क आँखा शिविर, साल्टट्रेडिङ कर्पोरेसनद्वारा आयोडिन युक्त नुन वितरण, मानव स्वास्थ्य शिविर, आयुर्वेद स्वास्थ्य शिविर, ससस्त्र प्रहरीवल हेड क्वाटर झापा २ नम्वर गणवाट विपद् ब्यवस्थापनका लागि नागरिकहरु समक्ष प्रविधिको प्रस्तुती, सर्पदंश प्राथमिक उपचार विधिको जानकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापावाट पशुस्वास्थ्य तथा वाँझोपन निवारण शिविर, कृषिज्ञान केन्द्र झापावाट घुम्ति वाली उपचार शिविर, माटो पिरक्षणलगायतका सेवाहरु प्रवाह भएका थिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपमेयर कमला खतिवडा, वडा नं. ३ का वडाअध्यक्ष जीवकुमार भण्डारीले नागरिकता वितरण गरेर शिविरको उद्घाटन गरेका थिए ।

नागरिकलाई घर घरमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर शिविर सञ्चालन गरेको अर्जुनधारा नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष जीवकुमार भण्डारीले वताए ।

स्थानीय सरकार नागरिकका घर दैलोमा आएको अनुभुति गराउदै सहज तवरले सेवा प्रवाह गर्न शिविर सञ्चालन गरिएको उनको भनाई छ ।