विर्तामोड / गृहमन्त्री रामबहादुर थापा बादलले सरकारलाई गिराउने, पृथकताबादी र राज्यव्यवस्थालाई उल्टाउने तीन शक्तिहरु मिलेर कम्युनिष्ट सरकार कमजोर बनाउन लागेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाद्धारा आज विर्तामोडमा आयोजित जनआन्दोलन तथा जनयुद्धका महान शहिदहरुको सम्मानमा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले सो कुरा बताएका हुन ।
‘अहिले यी ३ शक्तिको गठजोड भईरहेको छ’ गृहमन्त्री बादलले भने ‘यी शक्तिलाई विदेशी शक्तिकेन्द्रले सहयोग गरिरहेका छन् ।’
राज्य व्यवस्थालाई कमजोर बनाउने शक्तिहरु जनतामा भ्रम छर्ने र निराशा फैलाउने काम गरिरहेको बताउदै त्यस्ता शक्ति बाट सतर्क रहन पनि उनले आग्रह गरे ।
पार्टी एकता फागुन दोस्रो हप्ताभित्र पुरा हुने गृहमन्त्री बादलले जानकारी दिए । हिजो र आज दुई अध्यक्षहरुको बैठक बसीरहेको छ तसर्थ पार्टी एकता चाँडै नै पुरा हुन्छ उनले भने ।
पार्टी भित्र विभिन्न प्रवृतीहरु हुन्छन ती प्रवृतीहरुलाई समेटेर लान नसके पार्टी एकता हुन नसक्ने उनको भनाई थियो ।
उनले पार्टी एकताको विकल्प नरहेको पनि बताए । नेकपाका नेता एवम् क्षेत्र नं १ का सांसद् सुरेन्द्र कार्की पार्थले पार्टी एकता गर्न नेतृत्वले विलम्भ गरे कार्यकर्तामा निराशा पैदा हुने बताए ।
कम्युनिष्टहरु अहिले निदाए जस्तो देखिएको छ त्यसैले कम्युनिष्टलाई झक्झकाउने बेला भएको उनको भनाइ थियो ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपाका प्रदेश नं १ अध्यक्ष देवराज घिमिरे, नेकपाका नेता नरेश खरेल, केन्द्रिय सदस्य हरीकुमार राजवंशीलगायतले पार्टी एकिकरणको प्रकृया तत्काल टुङ्ग्याउनुपर्ने बताएका थिए ।