कालिझोडामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने

विर्तामोड / नवकालिका खेल मैदानलाई रंगशालामा स्तरोन्नती गर्दै फुटबल एकेडेमीलाई सहयोग गर्ने उद्देश्यले मेचीनगरको कालिझोडामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

नवकालिका युवा क्लव खेलकुद समितिको आयोजनामा मेचीनगर १२, कालिझोडामा जिल्लास्तरीय खेलकुद प्रतियोगिता हुन लागेको आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

फागुन ७ गतेदेखि सुरुहुने प्रतियोगितामा झापा जिल्लाका ८ टीमको सहभागिता रहने छ । खेल फागुन १४ गतेसम्म ७ दिन चल्ने छ ।

प्रतियोगितामा आयोजक नवकालिका युवा क्लवसहित दमक फुटबल ट्रेनिङ सेन्टर, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मुनाल फुटबल क्लव, शनिश्चरे फुटबल क्लव, सतासीधाम स्पोर्टीङ क्लव, सैनिक फुटबल क्लव र रेडस्टार फुुटबल क्लव विर्तामोड सहभागी हुने नवकालिका युवा क्लवका सचिव जनक लुहागुनले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ र द्वितीय हुनेले नगद ३१ हजार १११ शिल्ड तथा ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, प्रत्येक खेलको म्यानअफद म्याचले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, अनुशासित टीम र उदयमान खेलाडीलाई समेत नगद् पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतियोगिताका लागि स्व.देउभक्त लिम्बूको स्मृतीमा निजकी श्रीमती तेजमाया लिम्बूले विजेताको शिल्ड र स्व.रेवत सेवाको स्मृतीमा आमा सुजता सेवाले उपविजेता टीमको शिल्ड प्रायोजन गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च लाग्ने र प्रतियोगिताबाट करिब १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको खेल संयोजक बसन्त लिम्बूले जानकारी दिए ।

त्यस्तै, दोस्रो पुरस्कारको रकम विर्तामोडस्थित चिल्ड्रेन इन्भारोमेन्ट इङलिस स्कूलले उपलव्ध गराउने खेल संयोजक लिम्बूले बताए ।

प्रतियोगिता सम्पन्न गरेर बचेको रकम क्लवद्धारा सञ्चालित फुटबल एकेडेमीलाई सहयोग गर्ने र रंगशालाको स्तरोन्नती गर्ने योजना रहेको संयोजक लिम्बूले बताए ।

एकेडेमीमा हाल ६० जना प्रशिक्षार्थीले फुटबल प्रशिक्षण लिइरहेको खेलकुद संयोजक दिपक लामाले बताएका छन् । पत्रकार सम्मेलनमा नवकालिका युवा क्लवका पदाधिकारी तथा खेल आयोजक समितिका सदस्यको उपस्थिति थियो ।

प्रतियोगिता उद्घाटनका अवसरमा विभिद् सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ ।