टाइब्रेकरमा मुनाललाई हराउँदै शनिश्चरेले जित्यो जिल्ला स्तरीय फुटबलको उपाधी

खेलकुद समाचार स्थानीय

विर्तामोड  / टाइब्रेकरमा मुनालका खेलाडीले प्रहार गरेका दुई गोल पोष्टबाट बाहिरिएपछि मेचीनगरको कालिझोडामा सम्पन्न जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी शनिश्चरे फुटबल क्लवले हात पारेको छ ।

शनिश्चरे फुटबल क्लव र मुनाल स्पोर्टीङ क्लव चन्द्रगढी बिच आज सम्पन्न फाइनल खेल निर्धारित समयमा बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो ।

शनिश्चरे फुटबल क्लवले मुनाललाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गरेको हो । पेनाल्टी सुटआउटमा मुनाल क्लवका तर्फबाट जर्सी नं १४ का कर्ण लिम्बू र जर्सी नं २ का रोमन भूजेलले प्रहार गरेको गोल पोष्टको दिशा लिन नसकि बाहिरिएपछि शनिश्चरेको जित निश्चित भएको हो ।

मुनाल क्लवका जर्सी नं १० का खेलाडी शक्ती राइले प्रहार गरेको गोल शनिश्चरेका गोलकिपरले सुन्दर ढंगले बचाएका थिए ।
त्यस्तै, शनिश्चरेका जर्सी नं १९ का देवेन्द्र तामाङले प्रहार गरेको गोलपोष्ट भन्दा बाहिर गएको थियो ।

त्यसअघि खेलको पहिलो हापमा दुबै टीमले गोल गर्ने राम्रा अवसर सृजना गरे पनि गोल गर्न सकेनन् । खेलको दोस्रो हापमा शनिश्चरेका खेलाडीले डिबक्समा हेण्ड गरेपछि पाएको पेनाल्टीमा मुनालका तर्फबाट कर्ण लिम्बूले १ गोल गरी अग्रता दिलाए ।

लगत्तै मुनाल क्लवका खेलाडीले पनि आफ्नो डिबक्स एरियामा फाउल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै शनिश्चरेका देबेन्द्र तामाङले गोल गर्दै खेल बराबरी गरे ।

प्रतियोगिताको म्यान अफ द म्याच विजेता टीमका अनुकरण श्रेष्ठ घोषित भए । उनले नगद २ हजार र ट्रफी प्राप्त गरे ।

त्यस्तै, प्रतियोगितामा मुनाल क्लवका शक्ती राई सर्वाधिक गोलकर्ता घोषित भए । उनले प्रतियोगितामा ४ गोल गरे । उनले नगद ३ हजार १ सय पुरस्कार प्राप्त गरे ।

जारी प्रतियोगितामा शनिश्चरे फुटबल क्लवका पुजन उपरकोटी उत्कृष्ट खेलाडी घोषित भए । उनले पनि नगद ३ हजार १ सय प्राप्त गरे ।
प्रतियोगिताका सहभागी आयोजकका १४ वर्षीय खेलाडी प्रशान्त लिम्बू उदयमान खेलाडीको रुपमा पुरस्कृत भए । उनलाई ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेता टोली शनिश्चरेले नगद ५१ हजार १११ शिल्ड र उपविजेता मुनाल क्लवले नगद ३१ हजार १११ शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

फागुन ७ गतेदेखि सुरु प्रतियोगिता १४ गते समापन भएको हो । नवकालिका खेल मैदानलाई रंगशाला उन्मुख बनाउने र धाइजन फुटबल एकाडेमीलाई सहयोग गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा झापा जिल्लाका ८ टीमको सहभागिता रहेको थियो । प्रतियोगिताका संयोजक बसन्त सुव्बाको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथी अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार राना र मेचीनगर कार्यपालिका सदस्य तीकाराम मग्रान्तीले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा क्लवका अध्यक्ष अमित राइले क्लवको गतिविधी र भावी योजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा मेचीनगर १२ का खेल संयोजक दिपक लामालाई कार्यक्रमका अध्यक्षले मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन क्लवका सचिव जनक लुहागुनले गरेका थिए । समापनका अवसरमा प्रतियोगिता सञ्चालन गर्न प्रायोजन गरेर सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थालाई सम्मान गरिएको थियो ।