ताप्लेजुङमा हेलिकप्टर दुर्घटना पर्यटनमन्त्रीसहित ७ जनाको निधन

समाचार

ताप्लेजुङ / ताप्लेजुङमा आज पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जना सवार थिए ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा ६ वटा शव फेला परेको छ । सबै जलेको अवस्थामा शव निकालिएको बताइएको छ । शवको पहिचान हुन सकेको छैन ।

प्रहरी नायव उपरीक्षक सञ्जय सिंह थापाले घटनास्थलमा ६ वटा शव भेटिएको जानकारी दिएका छन् । उनका अनुसार शव चिन्न सकिने अवस्थामा छैन ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा पुगेको सुरक्षा निकायसहित केही स्थानीयको टोलीले घटनास्थलमा शव एकीकृत गर्ने काम गरिरहेको छ ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेको हो ।

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको कार्यक्रममा सहभागिता जनाउन पुगेको बेला भने पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी युवराज दाहाल, र चालक प्रभाकर केसी रहेका थिए ।