झापा गोल्डकपको तयारी पुरा, मगमग चाउचाउ प्रायोजक

खेलकुद समाचार

गोपिन पोखरेल-

विर्तामोड / झापा गोल्डकपको चौथो संस्करण मगमग झापा गोल्डकप २०७५ को सम्पूर्ण तयारी पुरा भएको छ । गोल्डकप यही फागुन १८ गतेदेखि २७ गतेसम्म विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिएका हुन् ।

‘झापा गोल्डकप चौथो संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ’ अध्यक्ष गिरीले भने– ‘प्रतियोगिता सम्पन्न गर्न राजनीतिक दल, स्थानीय संघसंस्था लगायत सबैपक्षसँग छलफल भइसकेको छ ।’ अध्यक्ष गिरीका अनुसार यो गोल्डकपको आकर्षण भनेको फाइनलमा दशौं हजार मान्छेको सहभागिता हुनु हो ।

पत्रकार सम्मेलनमा पूर्वको सबैभन्दा बढी फुटबलको गतिविधि हुने झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन लागि परेको आयोजकको दाबी छ ।

यसपटकको प्रायोजक मगमग

अघिल्ला संस्करणमा एसियन थाइफुड्सको रमपम चाउचाउले प्रायोजन गर्दै आएको झापा गोल्डकपलाई यसपालि घरेलु उद्योग मनषा थाई फुड्सको उत्पादन मगमग तयारी चाउचाउले प्रायोजन गरेको छ ।

मगमग चाउचाउका तर्फबाट बुद्धी घिमिरे र गोल्डकपका तर्फबाट महेन्द्रकुमार गिरीले गोल्डकप प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्रमा हस्ताक्षर पछि बोल्दै मगमग चाउचाउका तर्फबाट घिमिरेले मनषा थाइ फुड्स भर्खरै खुलेको उद्योग भएता पनि झापाको गौरबको रुपमा रहेको झापा गोल्डकपलाई प्रायोजन गर्न पाँउदा खुसी लागेको प्रतिकृया दिए ।

मगमगले गोल्डकपलाई ८ लाख रुपैया दिने

मगमगले झापा गोल्डकपलाई नगद ८ लाख रुपैया दिने र झापा ११ लाई नगद ५ लाख साथै १ लाख रुपैया बराबरको खेल सामाग्री प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

विजेतालाई १२ लाख ५५ हजार र उपविजेतालाई ६ लाख ५ हजार पुरस्कार

प्रतियोगिताको विजेता टीमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रुपैया पाउने छन् । यो वर्ष मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने बताइएको छ ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वाधिक गोलकर्ता खेलाडीेले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यानअफ द म्याचले नगद १५ हजार रपैयाँ पाउने आयोजकले जनाएको छ ।

१० टिमको सहभागिता

प्रतियोगितामा आयोजक झापा ११ फटबल क्वलसहित नेपालका ९ र हङकङको एक गरी १० टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा तीनवटा विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मस्याङ्दी क्लव, थ्रि स्टार क्लव, मोरङ ११ फुटबल क्लव, रुपन्देही फुटबल क्लव, सहारा क्लव पोखरा र हङकङ नेप्लिज एकाडेमी सहभागिता जनाउने आयोजकले जनाएको छ ।

दुई पुराना खेलाडीलाई नगद् २५ हजारसहित सम्मान

अघिल्लो वर्ष झै यसपटक पनि झापाका दुई पुराना खेलाडीलाई नगद् २५ हजारसहित सम्मान गरिनेछ ।

डोमालालको परिवारलाई प्रत्येक वर्ष २५ हजार सहयोग

यसपालिदेखि प्रत्येक वर्ष रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ प्रदान गर्ने बताएको छ ।

इ-सेवामार्फत टिकट

खेललाई व्यवस्थित गर्न आयोजकले इ सेवासँग सहकार्य गरेर अनलाइन टीकटको व्यवस्था गर्ने जनाएको छ । खेल हेर्ने दर्शकका लागि १ सय २ सय र ३ सय दरका टिकटको व्यवस्था गरेको छ ।

पार्किङ र प्रवेशद्वारलाई पनि गतवर्ष भन्दा व्यवस्थित गरिएको आयोजकको दाबी छ ।

१ करोड ३० लाख आम्दानी र २५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य

प्रतियोगिता सम्पन्न गर्न आयोजकले १ करोड ३० लाखको अनुमानित आयव्यय पनि सार्वजनिक गरेको छ । जसअनुसार नयाँ सदस्यता शुल्कबाट ५ लाख २५ हजार, स्पोन्सरसिपबाट ८० लाख रुपैयाँ, टिकट बिक्रीबाट ३५ लाख र सदस्यता सहयोग शूल्कबापत ८ लाख ७५ हजार गरी १ करोड ३० लाख अनुमानित आम्दानी हुने आयोजकको अपेक्षा छ ।

 १ करोड ५ लाख खर्च अनुमान 

त्यस्तै, फुटबल टिम खर्च, मैदान मर्मत तथा व्यवस्थापन, छपाई खर्च, टिकट बिक्रि खर्च, पुरस्कार खर्च, प्रचार प्रसार, सुरक्षा खर्च, सांस्कृतिक कार्यक्रम, टीसर्ट तथा जर्सी खरिद, अतिथि सत्कार, औषधि उपचार र सचिवालय खर्च गरी १ करोड ५ लाख रुपैया खर्च हुने बताएको छ ।

त्यस्तै, प्रतियोगिताबाट २५ लाख रुपैयाँ बचत गर्ने आयोजकको लक्ष्य छ । झापा गोल्डकपको आयोजनामा हुने प्रतियोगिाको लागि विर्तामोड नगरपालिका सह आयोजक रहेको छ ।

झापा गोल्डकपको नयाँ जर्सी

सो अवसरमा मगमग चाउचाउले प्रायोजन गरेको झापा गोल्डकपको नयाँ जर्सी समेत सार्वजनिक गरिएको थियो ।