मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, बिहीबार सार्वजनिक विदा

काठमाण्डौ / सरकारले संस्कृति पर्याटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ।

मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद बैठकले मन्त्री अधिकारीको निधनको शोकमा  बिहीबार राष्ट्रिय शोक मनाउँदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।

यस्तै सरकारले हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गर्न ४ सदस्यीय छानविन समिति गठन गरेको छ। बालुवाटार श्रोतका अनुसार पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी लगायत उपसचिव युवराज दाहाल र सुरक्षाकर्मी अर्जुन घिमिरेको ज्यान गएको छ।