झापा गोल्डकप : उद्घाटन खेलमा झापा ११ र सहारा पोखरा भिड्ने, दुबै टिमको जित्ने दाबी

विर्तामोड / मगमग झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ एफसी र पोखराको सहारा पोखरा बिच खेल हुने भएको छ ।

झापा गोल्डकपको चौथो संस्करण अन्तर्गत उद्घाटन खेल भोली फागुन १८ गते हुँदैछ । आयोजकका तर्फबाट आज आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुबै टीमका कोच र क्याप्टेनले खेल आफुले जित्ने दावी गरेका छन् ।

झापा ११ र सहारा पोखरा एफसी बिच यसअघि एकपटक भेट भइसकेको छ । यी दुई बिचको यो दोस्रो भेट हो । सहारा पोखराका क्याप्टेन मनबहादुर तामाङले अघिकांश खेलाडी अन्डर २५ का भएकोले जोसजाँगरका साथ खेलेर जित्ने दावी गरे ।

‘सहारा पोखरा टेक्निकल्ली स्ट्रङ टीम हो’ तामाङले भने- ‘हामीले टेक्निकल पार्टलाई फलोअप गर्यौं भने अवश्य जित्छौं ।’ झापालाई दर्शकको सपोर्ट होला तर पोखराले जित्ने गरी खेल्ने उनको दाबी छ ।

खेलको स्तर बढाउन केही अफ्रिकन खेलाडी समेत समावेश गरेको उनले बताए । झापा ११ का क्याप्टेन कर्ण लिम्बूले आफ्नो पहिलो रणनीति जित्ने रहेको दाबी गरे । उनले भने- ‘हामीसँग सबै खेलाडी फिट र अनुभवी भएकोले राम्रो परफरमेन्स हुन्छ भन्ने अपेक्षा छ ।’

झापा ११ का कोच प्रवेश कटुवालले चौथो गोल्डकप भएकोले उत्कृष्ट होम ग्राउण्ड, दर्शकको सपोर्ट भएकोले जित निश्चित रहेको दावी गरे ।

झापा ११ का म्याच कमिस्नार केशवराज दाहाल, सहारा पोखराका कोच प्रल्हाद हिराचनले तयारी राम्रो गरेकोले आ आफ्नो टिमले जित्ने दावी गरे ।

गोल्डकप यही फागुन १८ गतेदेखि २७ गतेसम्म विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ । झापा गोल्डकपलाई यसपालि घरेलु उद्योग मनषा थाई फुड्सको उत्पादन मगमग तयारी चाउचाउले प्रायोजन गरेको छ ।

मगमगले यसपालिको गोल्डकपलाई नगद ८ लाख रुपैया दिने र झापा ११ लाई नगद ५ लाख साथै १ लाख रुपैया बराबरको खेल सामाग्री प्रदान गर्ने छ ।

प्रतियोगिताको विजेता टीमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रुपैया पाउने छन् ।

यो वर्ष मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल पाउने छन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वाधिक गोलकर्ता खेलाडीेले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यानअफ द म्याचले नगद १५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।