सतासी सहकारीको २२औं वार्षिकउत्सव सम्पन्न, २२ जना कर्मचारी र सदस्य सम्मानित

विर्तामोड / उच्च प्रतिफलकासाथ वित्तिय कारोबार गरिरहेको विर्तामोडको सतासी बहुमुखी सहकारी संस्था लिले आज स्थापनाको २२ औ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

वार्षिक उत्सवको अवसरमा सहकारीले संस्थाका तीन उत्कृष्ट कर्मचारी सहित ५ जना पूर्व सल्लाहकार समिति सदस्य, ७ जना उत्कृष्ट बचतकर्ता र ७ जना सक्रिय ऋणी सदस्य गरी २२ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

सहकारीले संस्थाको वार्षिक साधारणसभामा मात्र पुरस्कृत गर्ने सहकारी परम्परा तोड्दै वार्षिक उत्सवको अवसरमा कर्मचारी र सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने उत्कृष्ट कर्मचारीहरुमा हल्दिबारी सेवाकेन्द्र प्रमुख धनबहादुर विश्वकर्मा, कन्काई सेवाकेन्द्रकी बजार प्रतिनिधि लक्ष्मी सापकोटा र विर्तामोस्थित सहकारी पसलकी लेखापाल कल्पना डाँगी रहेका छन् ।

उनीहरुलाई प्रसंशापत्र र नगद ३ हजार रुपैयाँ प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीले प्रसंशापत्र र नगद प्रदान गरेका थिए ।

त्यस्तै, वार्षिक उत्सवमा विभिन्न सेवाकेन्द्रका सक्रिय ऋणी सदस्यहरु सन्तोषकुमार पोखरेल, लालमाया श्रेष्ठ, मिना कार्की, फुलकुमारी सुव्वा, शिवप्रसाद राजवंशी, डम्बरबहादुर नेपाल र मुना नेपाली दर्जीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, असल बचतकर्ताको रुपमा नरमायाँ गुरुङ, मनोज विश्वकर्मा, इन्दिरा थापा, मिनाकुमारी मगर, ताराप्रकाश डाँगी, कुमारबहादुर माझी र निर्मल कार्कीलाई सम्मान गरिएको थियो ।

साथै, सहकारीले संस्थाका पूर्व सल्लाहकार समिति संयोजक र सदस्यलाई पनि सम्मान गरेको छ । सम्मानीत हुनेमा सल्लाहकार संयोजक, भिमबहादुर श्रेष्ठ, सदस्यहरु पंकजबिक्रम नेम्वाङ, युवराज संग्रौला, खोमराज आचार्य र जर्नादन उप्रेती रहेका छन् ।

उनीहरु सबैलाई संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै, धुलावारी सेवाकेन्द्रलाई उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले सहकारीले शेयर सदस्यको मन जितेर उल्लेख्य प्रगति गर्न सफल भएको भन्दै प्रशंसा गरे । संस्थाका अध्यक्ष श्रेष्ठले संस्थालाई वित्तिय अनुशासनमा रहि सहि ढंगले सञ्चालन गर्ने प्रगत्न गरेको बताए ।

उनले संस्थालाई संघीय ढाँचामा लाने प्रयास भईरहेको बताउँदै १५ औं वार्षिक साधारणसभाले लिएको लक्ष्य तोकिएको समय अगावै पुरा गर्न सफल भएको भन्दै सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए ।

राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सवमा संस्था परिसरमा राखिएको दान पेटीकामा संकलित रकम ७ हजार ८० रुपैयाँ मध्ये सहकारीले ७ हजार ९२० रुपैयाँ थप गरी १५ हजार रुपैयाँको चेक कन्काई छठ सेवा समाजका वरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरीलाई हस्तान्तरण गरिएको थियो ।

चेक लिंदै छठ सेवा समाजका उपाध्यक्ष चौधरीले सहकारीलाई धन्यवाद दिंदै प्राप्त रकम सहि ढंगले सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधानले सतासी सहकारीले वित्तिय कारोबार र सुपथ मुल्यको सहकारी पसल सफलतापूर्वक सञ्चालन गरेको भन्दै प्रसंशा गरे ।

कार्यक्रममा पुरस्कृत कर्मचारी धनबहादुर विकले प्राप्त गरेको पुरस्कार बापतको रकम कुनै कोष खडा गरेर जम्मा गरिदिन संस्थालाई आग्रह गरे ।
वार्षिक उत्सव समारोहमा फस्ट माइक्रोफाइनान्स उर्लाबारीका हिरामणी सदा, आरपी डिस्ट्रिव्यूटर्सका शुरेसकुमार भद्रपुरे, जिल्ला सहकारी संघकी लेखा सदस्य पम्फा विकलगायतले शरभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठको अध्यक्षतामा आयोजित वार्षिक उत्सवमा सञ्चालक सदस्य ध्रुव कनालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका प्रबन्धक सन्तोष कुमार श्रेष्ठले गरेका थिए ।