मनाङले झापा गोल्डकप नखेल्ने, उसको ठाँउमा क्यामरुनको दाउफिन्स

खेलकुद समाचार

विर्तामोड / झापा गोल्डकपमा खेल्ने भनिएको मनाङ मस्र्याङ्दी क्लवले गोल्डकप खेल्न नसक्ने जनाएको छ । एएफसी क्लवको तयारी गर्नु पर्ने जनाउदै मनाङ मस्र्याङ्दीले खेल्न नसक्ने जानकारी आयोजकलाई गराई सकेको छ ।

झापा गोल्डकप आयोजकले यस अघि मनाङ मस्र्याङ्दी र लाली रुपन्देही ११ ले खेल्ने टाइसिट सार्वजनिक गरिसकेको थियो । मनाङका महासचिव अनिल गुरुङले एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण झापा गोल्डकप नखेल्ने भएको बताएका छन् ।

एएफसी कप अप्रिल ३ बाट हुँदैछ । उनले टिमले एएफसी कपको लागि बिहीबारबाट प्रशिक्षण सुरु गरिने बताए । प्रशिक्षण एन्फा कम्प्लेक्समा हुनेछ ।

टिमका कप्तान विराज महर्जनले मुख्य खेलाडीहरु घाइते भएको र फेरि खेल्दा घाइते भए टिमलाई नै समस्या हुने भएका कारण झापा गोल्डकप नखेल्ने निष्कर्षमा टिम पुगेको बताए ।

दाउफिन्स फुटबल क्लब क्यामरुन


‘ए’ डिभिजन लिग च्याम्पियन मनाङको स्थानमा दाउफिन्स फुटबल क्लब क्यामरुनले सहभागिता जनाउने भएको झापा गोल्डकप आयोजक समितीले जनाएको छ । यो सँगै अब बिहीबार रुपन्देही ११ र दाउफिन्स फुटबल क्लब भिड्ने भएका छन् ।

गोल्डकप आयोजकका महासचिव गजेन्द्र पौडेलका अनुसार गोल्डकपमा सहभागिता जनाउन दाउफिन्स बुधबार बिहानै झापा आइसकेको छ ।
झापा गोल्डकपको खेलतालिका अनुसार मनाङले फागुन २३ गते बिहीबार लाली रूपन्देही–११ सँग क्वाटरफाइनल खेल्ने तालिका थियो ।

दाउफिन्स र रुपन्देही ११ बीच हुने खेलको विजेताले त्रिभुवन आर्मीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।