टीकापुर हत्याकाण्डका अभियुक्त चौधरीसहित ११ जनालाई जन्मकैद

पत्रपत्रिका

काठमाडौँ / कैलालीको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशमलाल चौधरीसहित ११ अभियुक्तमाथि जन्मकैदको कारबाही भएको छ ।

साढे तीन वर्षअघि ९ जनाको ज्यान जाने गरी भएको उक्त घटनाको सुनुवाइ गर्दै कैलाली जिल्ला अदालतले बुधबार यस्तो फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले गरेको उक्त फैसलाअनुसार रेशलाल चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी र गङ्गाराम डगौरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं बमोजिम जन्मकैदको सजाय सुनाइएको हो ।

अभियुक्तमध्ये श्रवण भन्ने व्यक्ति भने नाबालक भएकाले उनलाई बालबालिकासम्बन्धी ऐनअनुसार आधा (१० वर्ष) मात्र कैद सजाय हुनेछ ।
सोही घटनाका प्रतिवादी लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जितबहादुर डगौरा, किशनलाल चौधरी, दिबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई भने मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं बमोजिम जनही तीन वर्ष कैद सजाय सुनाइएको छ ।

चुन्नीरामबाहेक यी सबै प्रतिवादीको सजाय अवधि पुगेकाले बुधबारै मुक्त हुन पाउनेछन् भने चुन्नीरामको अवधि यही फागुन ३० गते पुग्ने भएकाले सोही दिन छुट्नेछन् ।

यस्तै प्रतिवादी करन चौधरीलाई बालबालिका ऐनबमोजिम छ महिना कैद हुने भएको र कैद भुक्तान भइसकेकाले थुनामुक्त भएका छन् । प्रतिवादीहरू नुरुल अलि जागा भनिने तहाँबर अलि जागा, विश्राम चौधरी (कुश्मी) र रामनरेश चौधरीले सफाइ पाइसकेका छन् ।

रेशमलाल पछिल्लो चुनावमा प्रतिनिधिसभा सदस्यका लागि कैलालीको निर्वाचन क्षेत्र १ बाट चुनिएका थिए । उनलाई केही महिनाअघि प्रतिनिधिसभा बैठकमा शपथग्रहण खुवाइएको थियो ।

स्मरणीय छ, विसं २०७२ भदौ ७ गते थरुहट/थारुवान आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एक नाबालकसहित आठ प्रहरीको हत्या गरिएको थियो । नेपाल समाचारपत्र