हस्तान्तरण गरियो डोले राजवंशीलाई घर

गोपिन पोखरेल –

विर्तामोड / किरण राजवंशीले जग्गा उपलव्ध गराएपछि स्थानीय युवाहरुको सक्रियतामा निर्माण गरिएको घर आज एक कार्यक्रमकाबिच डोलो राजवंशी (डोले) लाई हस्तान्तरण गरिएको छ ।

गत २५ पुसदेखि निर्माण शुरु गरिएको ३ कोठे घर तयार भएपछि आइतबार डोले राजवंशीको परिवारलाई हस्तान्तरण गरिएको हो ।

विर्तामोड नगरपालिका-९, डोले चोकमा बस्दै आएका डोले आफ्नो उमेरको पचासौं बसन्त घर विहिन भएर विताएका थिए । घर हस्तान्तरण भएसँगै डोले अब नयाँ घरमा बस्न पाउने भएका छन् ।

८० वर्षीय बुढी आमाका साथ बस्तै आएका डोले जन्मदै अपाङ्ग भएकाले राम्रोसँग हिडडुल गर्न र बोल्न पनि सक्दैनन् । उनकी आमा सुकसरी राजवंशीको पनि मानसिक सन्तुलन ठीक छैन ।

एक्लै बरबराउँदै बोल्ने सुकसरी पनि नयाँ घरमा बस्न पाउने भएपछि हर्षित भएकी छन् । मानसिक सन्तुलन ठीक नभए पनि छोरा डोलेलाई बनिबुतो गरेर उनले मिठोमसिनो खुवाउदै आएकी छन् ।

वषौंदेखि फुस्को टाटी बेरा लगाएर बनाएको घरमा बस्दै आएका डोलेले कस्टकर जीवन विताइरहेका थिए । विर्तामोड ९ का प्रकाश बुढाथोकीको अध्यक्षतामा डोले आवास निर्माण समिति बनेपछि स्वतःस्फुर्त रुपमा सहयोग रकम जुटेर घर तयार भएको हो ।

डोले आवास नाम दिइएको उक्त घर निर्माणका लागि थुप्रै सहयोगी दाताहरुले आर्थिक, जीन्सीलगायतको सहयोग गरेको निर्माण समितिका सचिव प्रदिप संग्रौलाले जानकारी दिए ।

डोले आवास हस्तान्तरण गर्न घर परिसरमै एक कार्यक्रम आयोजना गरिएको थियो । प्रतिनिधि सभाकी सदस्य एवम् अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले रिबन काटेर डोलेलाई घर हस्तान्तरण गरेकी थिइन् ।

घर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिनिधिसभा सदस्य खरेलले युवाहरुको सक्रियतामा डोले आवास निर्माण भई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रतिकृया दिइन् ।

युवाहरु लागे भने असम्भव केही हुँदैन भन्दै सांसद् खरेलले सरकारले मात्र सबै काम गर्न सक्दैन त्यसअर्थ युवाहरु समाज परिवर्तन गर्न लाग्नुपर्ने बताइन ।

राजनीतिक लडाई किनारा लागि सकेको बताउँदै सांसद् खरेलले अब अवस्था परिवर्तन गर्न युवाहरु लाग्नु पर्ने धारण राखिन ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले डोलेको दयनीय अवस्था देखेर युवाहरुले घर बनाइ दिएर महत्वपूर्ण कार्य गरेको प्रतिक्रिया दिइन ।

सो अवसरमा विर्तामोड वडा नं ९ की अध्यक्ष पवित्रा पाठक, २ नं वडा सदस्य किशोर पौडेल, नेपाली कांग्रेसका भोला पौडेल, राप्रपा नेतृ रञ्जु प्याकुरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता मोहन सुव्वा, प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम, घर निर्माण समितिका सदस्य सरोज पौडेललगायतले डोलेको पारिवारिक अवस्था र घर निर्माणबारे आ आफ्नो धारणा राखेका थिए ।

समितिका सदस्य एवम् आर्थिक विभागका प्रमुख पौडेलले घर निर्माणमा सहयोग गर्ने दाताहरुको विवरण प्रस्तुत गरेका थिए ।

घर निर्माणमा रकम प्रदान गरी सहयोग गर्ने करिब १०० जना र जीन्सी सामान सहयोग गर्ने २६ जनाको नामावली प्रस्तुत गरेका थिए ।

डोले आवास निर्माणका लागि प्रकाश बुढाथोकी, पूर्णकुमारी राजवंशी, प्रदिपकुमार संग्रौला, कमल अधिकारी, दुर्गा पाठक, सरोज पौडेल, राजेन्द्र सिटौला, रमेश राजवंशी, चेतन शिवाकोटी, हरेश राजवंशी र लक्ष्मी मोक्तानलगायतको एक समिति बनाइएको थियो । सो समितिको सक्रियतामा डोलेको घर निर्माण सम्भव भएको हो ।

२० साल अघिदेखि त्यहाँ बस्तै आएको डोलेको परिवारलाई स्थानीयहरुले सरसहयोग गर्दै बस्नको लागि यसअघि एउटा छाप्रो बनाइ दिएको छिमेकी तेजप्रसाद पाठकले बताए ।

घर निर्माणका लागि स्वदेश तथा विदेशबाट पनि रकम प्राप्त भएको निर्माण समितिले जनाएको छ ।

घर हस्तान्तरण कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले सिरक डस्ना प्रदान गरेका थिए भने घर निर्माणका क्रममा सनराइज सिमेन्ट प्रालिका प्रवन्ध निर्देशक अमित पोद्धारले २० बोरा सिमेन्ट सहयोग गरेका थिए ।