झापा गोल्डकपको उपाधी जित्ने झापा र आर्मी दुबैकोे दाबी

विर्तामोड / झापा गोल्डकपको सोमबार हुने फाइनल खेलको उपाधी मगमग झापा ११ र त्रिभुवन आर्मी दुबै टोलीले जित्ने दाबी गरेका छन् ।

फाइनलमा उपाधीका लागि आर्मी र आयोजक झापा ११ भिड्दैछन् । आइतबार विर्तामोडस्थित प्रतियोगिता सञ्चालन स्थल डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तानले उपाधी जित्ने दावी गरेका हुन् ।

झापा गोल्डकपमा आयोजक झापा ११ तीनवटै संस्करणमा फाइनल पुगेपनि उपविजेतामै सिमित हुँदै आएको छ ।

आर्मीले पहिलो र तेस्रो संस्करणको उपाधी हात पारिसकेको छ । तेस्रो पटक उपाधी जितेर ह्याट्रीक गर्ने दाउमा रहेको आर्मीलाई हराउँदै उपाधी रक्षा गर्ने सोचमा झापा ११ छ । 

‘यो संस्करणको उपाधी हामी जित्ने रणनीतिका साथ खेल्छौ’ झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले भने– ‘हामी चारै पटक फाइनल क्षमताले पुगेका हौं । यसपटक हामी आर्मीलाई जित्छौं ।’

शहिद स्मारक लिगका कारण झापाका खेलाडीले नियमित तयारी गर्न नपाउँदा केही समस्या भएको प्रशिक्षक कटुवालले स्विकारे ।

तर, अहिले सबै खेलाडी गतवर्ष भन्दा राम्रो भएकोले खेल जित्ने उनको दाबी छ । कटुवालले भने– ‘झापा ११ को समस्या भनेको स्ट्राइकिङमा हो अन्यक्षेत्रमा कुनै समस्या छैन ।’

आर्मीका क्याप्टेन भरत खबासले भने– ‘आर्मी मेहनतले हरेक पटक फाइनल पुग्न सफल भएको हो लकले होइन ।’ झापाली दर्शकको साथ नपाए पनि राम्रो खेलेर मन जित्ने उनले दाबी गरे ।

उनले झापा ११ राम्रो टीम भएको पनि बताए । त्रिभुवन आर्मीले सिधै वाइ पाएर क्वार्टर फाइनल खेल्ने अवसर पाएको थियो ।

पहिलो क्वार्टर फाइनलमा एपीएफलाई ३-० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको आर्मीले दोस्रो सेमीफाइनलमा क्यामरुनको दाउफिन्स फुटबल क्लवलाई १-० गोल अन्तरले हराउँदै फाइनलमा झापासँगको भेट पक्का गरेको हो ।

झापा ११ ले सहारा फुटबल क्लव पोखरा, हङ्कङ नेप्लिज एकाडेमी र थ्रिस्टार फुटबल क्लवलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन ।