उपाधीमा आर्मीको ह्याट्रीक, फेरी चुक्यो झापा

विर्तामोड / झापा गोल्डकपको उपाधी विभागिय टोली त्रिभुवन आर्मीले जितेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले झापा ११ एफसीलाई ५-३ गोल अन्तरले हराउँदै उपाधी जितेको हो ।

झापा ११ फेरी पनि आर्मीसँग निराश हुँदै दोस्रो पुरस्कारमा चित्त बुझाउनु पर्र्यो । जतिसँगै त्रिभुवन आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने झापा ११ ले ६ लाख ५ हजार रुपैया र ट्रफीमा चित्त बुझायो ।

आर्मीले अहिलेसम्म झापा गोल्डकपका तीनवटा उपाधी जितेर ह्याट्रीक गरेको छ भने फाइनल पुगेको झापा ११ आर्मीसँग लगातार तीन पटक पराजित हुन पुगेको छ । आर्मीले झापा गोल्डकपको पहिलो, तेस्रो र चौथो संस्करणको उपाधी जितेको छ ।

फाइनल खेलमा त्रिभुवन आर्मीका तर्फबाट सन्तोष तामाङले २, नवयुग श्रेष्ठ, भरत खवास र टेकबहादुर बुढाथोकीले १/ १ गोल गरेका थिए । झापा ११ का लागि योगेश गुरुङ, विदेशी खेलाडी फ्रान्सिस ओयेमी र भिक्टोर अमोवीले १/ १ गोल गरे ।

जीतका लागि आर्मीले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्यो । झापाले भने पहिलोे हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्ताम घोषित भए । उनले यामाहाको मोटरसाइकल प्राप्त गरे ।

सर्वाधीक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ भए । उनले नगद २५ हजार प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उदयमान खेलाडी झापाका निशान खड्का, उत्कृष्ट मिडफिल्डर झापाका पुजन उपरकोटी र उत्कृष्ट प्रशिक्षक आर्मीका चुनबहादुर थापा घोषित भए । उत्कृष्टहरुलाई नगद २१ हजार रुपैयाँ प्रदान गरियो ।