विप्लवको गतिविधि प्रतिबन्ध : सरकार, सरकारले गृहयुद्ध निम्त्यायो :विप्लव

काठमाडौँ  / नेकपा नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देश तरङ्गित भएको छ । जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि विप्लवका नेताहरुले कडा प्रतिक्रिया दिएका छन् । 

विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले मंगलबारै सरकारले हठातरुपमा प्रतिबन्ध लगाउँदै अपराधिक संगठन घोषणा गरेर महँगो निर्णय लिएको बताएका छन् । उनले यो निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

‘सामाजिक फासी केपी–प्रचण्ड सरकारले जनताको पार्टी नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ, यसबाट प्रष्टरुपमा देशलाई दलाल बुर्जुवाहरुको सरकारले द्वन्द्वमा पु¥यायो’, उनले मंगलबार भनेका थिए, ‘यसबाट सरकारले दमनमा उत्रने बाटो खोलेको छ, यसको पार्टीले कडा प्रतिवाद गर्छ ।’

त्यस्तै विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सगरमाथा ब्यूरो इन्चार्ज दिपेश बान्तावा राईले सरकारको यो निर्णयबाट देशमा गृहयुद्ध निम्तने चेतावनी दिए ।

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मंगलबार अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

‘विप्लव समूहका क्रियाकलापहरूलाई देशभर प्रतिबन्ध लगाउने निर्णय भएको छ’,  ‘उसका गतिविधि राजननीतिक भन्दा पनि अपराधिक भए। त्यसैलाई प्रतिबन्ध लगाउने भनिएको हो। ‘ सरकारले निर्णयमा भनेको छ । अन्नपूर्णपोष्टमा खबर छ ।