दुर्घटना न्यूनिकरण महाअभियानको दोस्रो चरणमा ट्राफिक प्रहरीलाई ३५ लाखको सामाग्री हस्तान्तरण

समाचार स्थानीय

विर्तामोड / ट्राफिक प्रहरीलाई ३५ लाख भन्दा बढीको सामाग्री हस्तान्तरण गर्दै दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम आजबाट शुरु भएको छ ।

अभियानको सुरुवात प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले विर्तामोडबाट गरे । महाअभियान अन्तर्गत पहिलो चरणमा विर्तामोडको डोमालाल रंगशालामा नेपथ्य बैण्डको सांगितिक प्रस्तुतीसँगै सुरु भएको थियो ।

महाअभियान समितिको आयोजना तथा एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा दोस्रो चरणको कार्यक्रम उद्घाटन गरिएको हो ।

सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियान सुरु गर्दै विहिबार प्रभातफेरी, ट्राफिक सामग्री हस्तान्तरण, ट्राफिक प्रहरीलाई १० थान मोटरसाइकल हस्तान्तरण र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास लगायतका कार्यक्रम भएको थियो ।

प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने १५ दिने अभियानमा सवारी चालकलाई पोषाक वितरण, जरीवाना रकममा बैंकिङ प्रणाली अवलम्बन गर्ने, पर्चा पम्प्लेट, चालकको स्वास्थ्य जाँच लगायतका कार्यक्रम गरिने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाइजर, १० वटा ह्वील लक र ७ सय जना चालक तथा सहचालकलाई पोशाक प्रदान गरियो । महाअभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार कार्यक्रममा ३५ लाख रुपैयाँभन्दा बढीका सामग्री हस्तान्तरण गरिएको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा ४ मंसिरमा नेपथ्य बैंण्डबाट भव्य सांगीतिक कार्यक्रम गरी दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो । महाअभियान शुभारम्भ कार्यक्रमबाटै २० लाख २८ हजार १ सय ५७ रुपैयाँ बचत भएको संयोजक गिरीले जानकारी दिए ।

७७ लाख रुपैयाँ संकलन भएको कार्यक्रममा ५७ लाख रुपैयाँ खर्च भएको संयोजक गिरीले जानकारी दिए ।

महाअभियानको पहिलो चरणबाट बचेको रकममा अन्य संघसंस्थाबाट थप गरी दोस्रो चरणमा ट्राफिक प्रहरीलाई सामाग्री हस्तान्तरण गरिएको संयोजक गिरीले जानकारी दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई बाटोमा राख्ने पद्धतीको अन्त्य गर्ने अभियानमा लागेको र सरकारको पनि त्यहि लक्ष्य रहेको जानकारी दिए । ‘विकसित मुलुकमा बाटोमा प्रहरीलाई देखियो भने के के न भएछ र प्रहरी आएछ भन्न थालिएको छ ‘-महानिरीक्षक खनालले भने- ‘तसर्थ अब नेपालमा पनि प्रहरीलाई प्रविधिमैत्री बनाउँदै सडकमा सुन्य उपस्थिति गराउने प्रयत्न हामीले गर्नुपर्छ ।’
प्रहरीलाई आफ्नो ठानेर मोटरसाइकल, ब्रेथलाइजर लगायतका सामाग्री सहयोग गरेकामा महाअभियान समितिलाई उनले धन्यवाद दिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सडकमा प्रहरीको भौतिक उपस्थिति भन्दा प्रविधिमैत्री बनाउने अभियान रहेको जानकारी दिए । प्रजिअ दाहालले प्रहरीलाई सहयोग गर्न धेरै सहयोगी हातहरु अघि बढिरहेकोमा धन्यबाद दिए ।

कार्यक्रममा विल्सन विक्रम राई तक्मेले सडक दुर्घटना, टाफिक चेतना सम्वन्धि आफ्नो हाँस्यव्यग्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।