नेकपाले टुंग्यायो झापामा एकता प्रकृया

राजनीति स्थानीय

विर्तामोड / नेपाल कम्युनिष्ट पार्टी झापाको एकता प्रक्रिया टुंगिएको छ ।

विहीबार नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहमध्ये ६ वटामा पूर्वमाओवादी केन्द्र र ९ वटा स्थानीय तहमा पूर्व एमालेले नेतृत्व गर्ने निर्णय गरेसँगै एकता प्रक्रिया टुंगिएको नेकपा नेता मणिकुमार साम्पाङले बताए ।

उहाँका अनुसार भद्रपुर, मेचीनगर, शिवसताक्षी नगरपालिका र हल्दिबारी, गौरीगञ्ज तथा झापा गाउँपालिकामा पूर्व माओवादीले नेतृत्व गर्नेछ ।

त्यस्तै, बिर्तामोड, कनकाई, दमक, गौरादह, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति, कचनवकल, बाह्रदशी र कमल गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने सहमति भएको छ ।

झापाका १३१ वटा वडामध्ये ५३ वटा वडामा पूर्वमाओवादीले नेतृत्व गर्ने जनाइएको छ । बाँकी ७८ वटा वडामा पूर्व एमालेले नेतृत्व गर्ने निर्णय भएको छ ।

पार्टीको जिल्ला अध्यक्ष पूर्वएमालेले र सचिव पूर्वमाओवादीले लिने यसअघि नै सहमति भइसकेको छ भने इञ्चार्ज र सह–इञ्चार्ज केन्द्रीय तहबाटै टुंगो लाग्ने नेता साम्पाङले बताए ।

अब बन्ने नेकपा झापाको १७५ सदस्यीय जिल्ला कमिटीमा पूर्वमाओवादीको भागमा ७० र पूर्वएमालेको भागमा १०५ सदस्य रहने छन् ।