आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै मेची नेत्रालय झापा माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश

विर्तामोड / इलाममा जारी पाचौं माइभ्याली अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मीलाई ४-३ गोल अन्तरले पराजित गर्दै मेची नेत्रालय झापा सेमीफाइनलमा प्रवेश गरेको छ ।

मेची नेत्रालयले आर्मीलाई टाइब्रेकरमा पराजित गरेको हो । आइतबार हुने सेमी फाइनलमा मेची नेत्रालयले हिमालयन शेर्पासँग प्रतिष्पर्धा गर्नेछ ।

चौथो झापा गोल्डकपमा झापा ११ लाई हराएर उपाधी जितेको आर्मी माइभ्याली गोल्डकपमा मेची नेत्रालयसँग पराजित भएको हो ।

आज भएको खेलको निर्धारित समयमा दुबै टीमले १/१ गोल गरेपछि अतिरिक्त समय थपिएको थियो । थपिएको अतिरिक्त समयमा दुबैपक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा त्रिभुवन आर्मीलाई ४-३ गोलले पराजित गर्दै मेची नेत्रालय जारी प्रतियोगिताको सेमीफइनलमा पुगेको हो । भोलीको पहिलो सेमीफाइनल खेल नेपाल पुलिस क्लव र दाउफिन्स फुटबल क्लव क्यामरुन बिच हुने आयोजकले जनाएको छ ।