झापामा पहिलो पटक थ्रिडिआई(3Di) पाठ्यक्रम भित्र्याउन मिडलपोइन्ट स्कूलको पहल

विर्तामोड / विर्तामोडको मिडलपोइन्ट इलेमेन्ट्री स्कूलले थ्रिडिआई स्कूल न्यजिलेण्डमा विकास गरिएको पाठ्यक्रम पठनपाठन गराउने विषयमा अभिभावक भेला गरी छलफल गरेको छ ।

अत्याधुनिक प्रविधिबाट पठनपाठन गराउने उद्देश्यले आयोजना गरिएको भेलामा विद्यालयका सम्पूर्ण अभिभावकहरुको उपस्थिति थियो ।

समयसापेक्ष अत्याधुनिक प्रविधियुक्त प्रयोगात्मक प्रविधिबाट पठनपाठन गराउने उद्येश्यले थ्रिडिआई स्कूल न्यूजिलेण्डमा विकास गरिएको कम्प्युटर सप्टवेयरका बारेमा छलफल गरिएको विद्यालयका शैक्षिक प्रमुख केशव सापकोटाले जानकारी दिए ।

अत्याधुनिक कम्प्युटर ल्यावमा थ्रिडिआई सप्टवेयर मार्फत अडियो भिजुवलको माध्यमद्धारा विद्यार्थीहरुलाई पठनपाठन गराउने योजना अन्तर्गत अभिभावक भेलाको आयोजना गरिएको सापकोटाले बताए ।

भेलामा प्रशिक्षणका लागि आएकी थ्रिडिआई स्कूल नेपालकी प्रमुख (कन्ट्री डाइरेक्टर) सृजना प्रधानले शिक्षामा नयाँ प्रविधि भित्र्याउने उदेश्यले नेपालमा योे सप्टवेयर मार्फत पठनपाठन शुरु गरिएको जानकारी दिइन् ।

उनका अनुसार यो प्रविधि भारत, बंगलादेश, श्रीलंका, नेपाल र इण्डोनेशियामा प्रयोगमा ल्याइसकिएको छ ।

यो प्रविधिमार्फत पठन पाठन गर्दा वालवालिकाको सहज प्रस्तुतीकरण, समुहमा काम गर्ने बानीको विकास, नेतृत्व क्षमताको विकास, सिर्जनशिलता, पत्रकारीताको सीप, जीवन जीउने कला र एकाग्रता जस्ता क्षमतामा बृद्धी विकास हुने प्रधानको भनाइ छ ।

यो प्रविधि मार्फत विद्यार्थीहरुलाई विज्ञान, अंग्रजी र सामाजिक विषयमा अध्यापन गराउन सकिन्छ । सप्ट्वेयरको माध्यमबाट सिकाइने हुँदा विद्यार्थीहरुले झर्को नमानी रुचीका साथ सिक्ने प्रधानको अनुभव छ ।

सन् २०११ बाट न्यूजिलेण्डमा विकास गरिएको यो शिक्षण प्रविधि नेपालमा २ वर्षदखि अध्यापन गर्न शुरु गरिएको छ । काठमाण्डौमा करिब ३० विद्यालयले यो सप्ट्वेयर लञ्च गरिसकेको डाइरेक्टर प्रधानले जानकारी दिइन् ।

विद्यार्थीले आर्किटेक्चर, फोटोग्राफी, इन्जीनियरिङ, भिडियो एडिटिङ, एनिमेशन, भिएफएक्स जस्ता सप्ट्वेयरहरु चलाउन सजिलै सिक्ने उनले जानकारी दिइन ।

‘थ्रिडिआई पाठ्यक्रम सञ्चालन गर्न विद्यालयमा उपयुक्त भौतिक संरचना र अत्याधुनिक कम्प्युटर ल्याबको आवश्यकता पर्ने गर्दछ, थ्रिडिआइ स्कूल नेपालकी प्रमुख प्रधानले भनिन्- ‘त्यो खालको संरचना झापामा मिडल पोइन्ट स्कूलले निर्माण गरेको पाइयो । त्यसैले यो स्कूलमा थ्रिडिआईको पाठ्यक्रम लागु गर्न सकिन्छ ।’

झापामा पहिलो पटक मिडल पोइन्ट स्कूलमा यो थ्रिडिआई स्कूल प्रविधि लञ्च गर्न लागिएको हो । यो प्रविधि अन्तर्गत विद्यार्थीलाई हप्तामा १ दिन र वर्षमा ४० वटा कक्षा सञ्चालन गरिन्छ । यो प्रविधि अध्यापनका लागि भारतबाट शिक्षक ल्याइने र यस्को निरिक्षण थ्रिडिआई स्कूल काठमाण्डौले गर्ने बताइएको छ ।

सोहि भेलामा विर्तामोडको अक्सपोर्ट ट्रेनिङ सेन्टरका प्रमुख केशव मैनालीले उपस्थित अभिभावकलाई सफल अभिभावक कसरी बन्ने विषयमा उत्प्रेरक तालिम समेत प्रदान गरेका थिए ।