भद्रपुरको सोमबारे बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट

गंगा बराल-

भद्रपुर / भद्रपुर नगरपालिकाले आइतबार भद्रपुर–२ को सोमबारे बजारमा अनुगमन गरेको छ ।नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा सोमबारे बजारका डेढदर्जन व्यावसायिक प्रतिष्ठानको अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, प्रशासकीय अधिकृत दयानन्द ढकाल, गुणस्तर तथा नापतौल कार्यालय झापाकी प्रतिनिधि अनुजा घिमिरे, झापा उद्योग वाणिज्य संघका कार्यालय सचिव दुर्गा खतिवडालगातको सहभागिता थियो ।

टोलीले किराना पसल, होटल तथा मिठाइ पसल, हार्डवेयर, सुनचाँदीलगायतका १९ वटा पसलमा अनुगमन गरेको थियो । अधिकांश व्यावसायिक प्रतिष्ठानले मूल्यसूची नराखेको, नापतौलका सामान नविकरण नगरेको पाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

तीमध्ये दुईवटा किराना पसलमा म्याद गुज्रिएका खाद्यसामग्री फेला पारिएकोले ती सामग्री स्थानीयको रोहबरमा नष्ट गरिएको, पसल दर्ता नविकरण नगरिएकालाई नविकरण गर्न, सबै व्यावसायिक प्रतिष्ठानलाई नापतौलका सामग्री सम्बन्धित निकायमा दर्ता तथा नविकरण गर्न दिइएको पनि श्रेष्ठले जानकारी दिए ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै अनुगमन कार्यलाई निरन्तरता दिइने उल्लेख गर्दै नगरप्रमुख जीवनकुमार श्रेष्ठले नियम–कानुनको परिधिभित्र रहेर व्यापार–व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।