सहमतिपछि अर्जुनधाराको खोला ठेक्का अवरोध हट्यो

केशवराज भण्डारी-

अर्जुनधारा / झापाको अर्जुनधारा नगरपालिकाले लगाएको खोला ठेक्कामा स्थानीय मजदुरको नामवाट गरिएको अवरोध लामो समयको छलफल पछि टुङ्गीएको छ ।

अर्जुनधारा नगरपालिकाले विगत ६ महिना अगाडी लगाएको ठेक्कामा स्थानीय मजदुरका नामवाट गरिएको विरोधका कारण ठेकेदार कम्पनीले नदिजन्य सामाग्री उत्खनन गर्न सकेको थिएन ।

नगरपालिकाले तयार भएको आइइ प्रतिवेदन अनुसार उत्खननका लागि योग्य स्थानको पहिचान गरि सिमाना लगाएर ठेक्का लगाएको थियो ।

तर, स्थानीयका नामवाट विभिन्न राजनीतिक दलहरुवाट वडाकार्यालयमा तालावन्दी देखि ज्ञापनपत्र बुझाउने कार्य निरन्तर जारी रहेपछि नगरपालिकाको तर्फवाट पटक पटक वैठक सञ्चालन गरी स्थानीयको माग र सर्त अनुसार खोलामा चेक ड्याम कस्न डिपिआर तयार गर्न सुरु गर्ने, खाने पानी तथा नहरका मुहानहरुको संरक्षण तथा ब्यववस्थापन गर्ने सहमति भएको छ ।

त्यस्तै, बुद्धशान्ति गाउँपालिकाको पनि सहयोगमा जोखिम स्थानको पहिचान गरी जनताको तटवन्धनबाट निर्माण गर्ने गरी प्लमवाल निर्माण गर्ने, ठेकेदार कम्पनीलाई नदिजन्य पदार्थ उत्खननमा कहि कसैले पनि अवरोध नगर्ने, नगरपालिकाको वडाकार्यालय वाट वितरण गरिने मजदुर परिचयपत्र अर्थात सुचिकरण यथार्थपरक हुने गरी परिमार्जनका लागि आवश्यक मापदण्ड वनाउने, खोलामा आश्रित मजदुरहरुलाई अवरोध नगर्ने लगायतका ६ सुत्रीय निर्णय गरेपछि खोला अवरोध हटेको हो ।

अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको हलुवागढ सामुदायिक वन कार्यालयको सभाहलमा करिव ५ घण्टा लामो छलफल र वहस गर्दै स्थानीय राजनीतिक दल, मजदुर, अर्जुनधारा नगरपालिकाका मेयर, उपमेयर, सम्पूर्ण वडाका वडाअध्यक्षहरु तथा प्रमुख प्रशासकीय अधिकृत बुद्धशान्ति गाउँपालिकाका अध्यक्षलगायत स्थानीय नागरिकहरुको सहभागितामा छलफल र सहमति भएको छ ।

स्थानीयको खोला अवरोध हटेसँगै खोलाका मुहानहरु ब्यवस्थित गर्ने तथा स्थानीय स्तरमा पानिको श्रोत ब्यवस्थित हुने, खानेपानी तथा सिंचाइका लागि नहरका मुहान ब्यवस्थित साथै वाँध निर्माण हुने पक्का भएको छ ।

छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, मजदुरलगायतले आ आफ्ना मागहरु राखेका थिए ।

खोलामा पानी निकासका लागि चेक ड्याम निर्माण तथा पैनिको मुहान ब्यवस्थित गरिनुपर्ने माग वढि उठेका थिए ।

जस्ले गर्दा काम पुरा गर्न खोला ठेक्कावाट उठेको आफ्नो भागको रकम वुद्धशान्ति गाउँपालिकाले पनि चेक ड्याम तथा मुहान ब्यवस्थित गर्ने कार्यमा खर्च गर्ने, अर्जुनधारा नगरपालिकाको भागमा पर्ने रकम र प्रदेश सरकारको भागमा पर्ने रकम पनि सोहि काममा खर्च गर्न माग गर्ने लगायतका मौखिक सहमती भएको छ ।