जलथलको काजलीखोलामा बन्यो पक्कीपुल

हल्दिबारी / झापाको हल्दिबारी गाँउपालिका वडा नं ४ चौकीविरान टोल स्थित काजलीखोलामा निर्मित पक्कीपुलको आज उद्घाटन गरिएको छ । निर्माण सम्पन्न पक्की पुलको हल्दिबारी गाँउपालिकाका उपाध्यक्ष डम्बर गिरीले उद्घाटन गरेका थिए ।

भिडियो सहित

http://https://www.facebook.com/tahalkamedia/videos/307194039968226/

करिब ३ बर्ष अघि निर्माण सुरु गरिएको पक्की पुल ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष गिरीले जानकारी दिए ।

पुल बनेपछि स्थानीय बिरामी हुँदा अस्पताल जान आउन सजिलो भएको गिरीले बताए । पुल निर्माण सम्पन्न गर्न आफुले निक्कै कसरत गर्नुपरेको पनि उनले बताए ।

कार्यक्रमको औचित्य तथा स्वागत मन्तब्य राख्दै वडासदस्य महेश मेचेले चौकीविरान टोलस्थित हल्दिबारीको दुइ वडालाई जोड्ने काजलीखोलाको पुल निर्माण भएपछि ३ र ४ वडाका १५ सय घरधुरी लाभान्वित हुने जानकारी दिए ।

विभिन्न वाधा अवरोध भएका कारण पुल निर्माणमा ढिलाई भएको सदस्य मेचेले बताए ।

३ वर्षमा निर्माण सम्पन्न गर्न सांसद अम्बिका खवासको क्षेत्र विकास कोषबाट डम्बर गिरीको पहलमा १० लाख रुपैयाँ निकासा गरेको, तत्कालिन जलथल गाविसको काजली खोलाको काठको पुल बेचेको १० लाख रुपैयाँ गरी २० लाखबाट काम शुरु गरेको मेचेले जानकारी दिए ।

गतवर्ष गाँउपालिकाले विनियोजन गरेको २० लाख रकममध्ये १२ लाखको काम भएको अन्य ८ लाख रुपैयाँको काम हुननसकि फ्रिज भएकोले काम सक्न ढिलाई भएको सदस्य मेचेले बताए ।

यसपटक गाउँपालिकाबाट विनियोजन भएको ४ लाख ६९ हजार र स्थानीयको १२ लाख रुपैयाँ बराबरको श्रमदान गरी ५० लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण गर्न सफल भएकोमा खुसी लागेको मेचेले बताए ।

पुल नहुँदा पटक पटक बाँसको पुल लगाएर स्थानीयबासीले आवत जावत गर्नुपर्दथ्यो । पुल बनेपछि स्थानीयहरुमा खुसी छाएको छ ।

उद्घाटन समारोहमा वडा नं ३ र ४ का वडाअध्यक्ष,वडासदस्य र स्थानीयबासीको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रम डाडाँगाउँ टोल विकास संस्थाकी अध्यक्ष निरा दाहालको अध्यक्षत्तामा भएको थियो भने कार्यक्रम सञ्चालक टोल बिकास सस्थाका सचिव बबिता भट्टराईले गरेकी थिइन् ।