विर्तामोडमा पशु स्वास्थ्य शिविर सम्पन्न, जनप्रतिनीधिले चासो नदिएको गुनासो

केशवराज भण्डारी-

झापा / झापाको विर्तामोड नगरपालिका पशुपन्छी विकास शाखाको आयोजनामा फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म नगरका सवै वडाहरुमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को स्विकृत क्लीनिकल उपचार सेवा शिर्षकवाट रु ५ लाख ५० हजार खर्चमा सञ्चालित शिविरवाट १ हजार ५८ घरपरिवारका कृषकले सेवा लिएको विर्तामोड नगरपालिकामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक विष्णु भट्टराईले जानकारी दिए ।

नगरका विभिन्न स्थानमा निरन्तर ६ दिन सम्म सञ्चालित शिविरमा वयस्क तथा उत्पादनशिल गाइ र भैँसी १७ सय ९० वटा, वाछा वाछी तथा पाडा पाडी ८ सय ३१, बाख्रा २ हजार १ सय ५, बंगुर १ हजार १ सय ५७, कुखुरा २ हजार ५ सय ८७ गरी जम्मा ८ हजार ८ सय ७० वटा पशुका लागि औषधि वितरण गरिएको थियो ।

त्यसैगरी, उपचार तर्फ वाँझोपन निवारण २ सय ३५, बोका खसी ५०, गर्भ परिक्षण ५०, अन्य ५ सय १८ गरि जम्मा ५ सय ४८ वटा पशुपन्छीहरुको उपचार गरीएको पशुपन्छी विकास शाखा प्रमुख सानुमायाँ श्रेष्ठले जानकारी दिइन ।

विर्तामोड नगरपालिकाले वर्षै पिच्छे सञ्चालन गर्ने गरेको पशु स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण, पशु बन्ध्याकरण, कृतिम गर्भाधान, आन्तरिक तथा बाह्य परजीवि विरुद्धको औषधि निःशुल्क वितरण, गर्भ परिक्षण, पशुपालन तथा पशु विमा सम्वन्धी परामर्श सेवा, बाँझोपन निवारण लगायतका सेवाहरु गाउँ गाउँमै पुर्याए सँगै कृषकहरुमा उत्साह थपिएको छ ।

फागुन २८ गते वडा नं. १ र २, २९ गते वडा नं. ३ ,४ र ६, ३० गते वडा नं. ७, चैत्र १ गते वडा नं. ८, २ गते वडा नं. १०, र ३ गते वडा नं. ९ मा पुगेर समापन भएको शिविरमा सहभागी अधिकांश कृषकहरुले शिविर १ दिनका लागि एक ठाउँमा मात्र सिमित भएको गुनासो गर्दै आगामी दिनमा यस्लाई हरेक वडाका टोलटोलमा पुर्याउनु पर्ने माग राखेका छन ।

विर्तामोड नगरपालिकाका हरेक वडामा सञ्चालन भएको पशु स्वास्थ्य शिविर सफल वनाउन केही केही वडाका जन प्रतिनिधीहरुले मात्र ब्यवस्थापनमा सहयोग गरेका छन भने अधिकांश वडा अध्यक्षहरु शिविर सञ्चालन भएको स्थानमा पुगेनन् ।

वडा नं. ६ का वडा अध्यक्ष सूर्य कन्दङ्वाले भने शिविर सञ्चालनका लागि फरक धारणा राखेका छन । शिविर व्यवस्थापनमा राम्रो भुमिका निर्वाह गरेका कन्दङ्वाले आगामी आर्थिक वर्षमा नगरवाट मात्र हैन वडावाट पनि शिविर सञ्चालनका लागि वजेट निर्धारण गरेर वडाका विभिन्न स्थानमा सञ्चालन गर्ने वताएका छन ।

शिविर सञ्चालन अवधिमा सञ्चालन भएको स्थानमा सञ्चारकर्मी पुग्दा कर्मचारीहरु मात्र सेवा प्रवाहमा ब्यस्त देखिन्थे भने जनप्रतिनिधीहरुको उपस्थिती भने देखिएन ।

आफ्नो वडामा शिविर सञ्चालन हुदा ब्यवस्थापनमा चासो नदेखाएका वडाहरुले पिउने पानीको समेत ब्यवस्थापन नगरेको पाइएको छ ।