साना किसान कृषि सहकारीको ग्रामिण भेगमा ठूलो काम

गोपिन पोखरेल-

जलथल / शहरी क्षेत्रमा सहकारी संस्था सञ्चालन गरेर वित्तिय कारोबार गर्नु सामान्य विषय हो । त्यो सबैले गरेका छन् । कतिपय अवस्थामा सहज र कतिपय अवस्थामा अप्ठ्यारो पनि होला ।

तर, ग्रामिण भेगमा बसेर सहकारी संस्था चलाउनु अहिले पनि निक्कै गाह्रो छ । कठिन छ । त्यो वित्तिय हिसाबले अथवा भनौ आर्थिक कारोबारको दृष्टिले सहज छैन ।

बचत संकलन गर्न, ऋण प्रवाह गर्न र असुली गर्न शहरी क्षेत्रमा जति सजिलो छ ग्रामिण भेगमा त्यति सजिलो छैन । सहज छैन ।
शहरी क्षेत्रमा किन सहज र ग्रामिण भेगमा किन कठिन भन्दा उत्तर सजिलै प्राप्त गर्न सकिन्छ ।

शहरी क्षेत्रमा वित्तिय कारोबार तेसै पनि बढी हुन्छ । ठूल्ठूला बजार उद्योग धन्दा, कलकारखाना, बैंक, विद्यालय, अस्पताल, सडक सञ्जाल के केहो केके सबै चिज शहरमै छन् ।

गाँउमा यी बसै चिज हरेक ठाँउमा पर्याप्त छैन । यसर्थ, ग्रामिण भेगमा आर्थिक कारोबार निश्चय नै कम रहन्छ ।

संस्थाको भवन अगाडी कर्मचारीको सामुहिक तस्वीर


यति हुँदाहुँदै पनि विषयगत रुपमा खोलिएका कतिपय सहकारी संस्थाहरुले गाउँमै रहेर पनि राम्रो आम्दानी गर्न र शेयरसदस्यलाई गुणस्तरीय सेवा सुविधा दिन सक्षम भएका उदाहरण प्रशस्तै छन् ।

यस्तै, उदाहरण बोकेको सहकारी हो हल्दिबारी वडा नं ४ को साना किसान कृषि सहकारी संस्था लि । २०६७ फागुनदेखि सञ्चालनमा आएको साना किसान कृषि सहकारी संस्था हाल २ हजार १८३ शेयर सदस्यकासाथ वित्तिय कारोबार गरिरहेको छ ।

विशेष गरी महिला समुह मार्फत वित्तिय कारोबार गर्दै आएको साना किसानले हालसम्म २६७ महिला समुहलाई लगानी गरिसकेको छ ।

पुरुषले व्यक्तिगत मात्र खाता खोल्न सक्ने प्रावधान रहेको सो सहकारीमा कुल शेयरपुँजी १ करोड १२ लाख ९१ हजार ३०० रुपैयाँ रहेको संस्थाकी प्रबन्धक तारा भट्टराइले जानकारी दिइन् ।

९ लाख ६० हजार ५५६ रुपैयाँ जगेडा कोषमा रकम रहेको उक्त सहकारीले हालसम्म २ करोड ८० लाख ८९ हजार ५२५ रुपैयाँ ८७ पैसा निक्षेप संकलन गर्न सफल भएको प्रबन्धक भट्टराइको भनाई छ ।

समुह मार्फत लगानी गर्दै आएको उक्त सहकारीले ११ लाख ५ हजार ४२४ रुपैयाँ १४ पैसा हालसम्मको खुद नाफा गर्न सफल भएको संस्थाका सहायक प्रबन्धक युवराज भण्डारीले जानकारी दिएका छन् ।

कृषि, तरकारी खेती, धान कमै, गहुँलगायत सिजनेवल बाली र माछा पालन, कुखुरा पालन तथा मासुजन्य बस्तुमा लगानी गर्दै आएको सहकारीले कृषि तथा पशुपालन क्षेत्रमा ग्रामिण कृषकलाई दर्बिलो सहयोग गर्दै आएको छ ।

 ५ देखि ७ जनासम्मको समूह निर्माण गरी लगानी गर्दै आएको साना किसान कृषि सहकारीले समूहलाई अधिकतम ४ लाख रुपैयाँसम्म लगानी गर्दै आएको छ ।

समूहमार्फत लगानी गर्दा असुली प्रकृया सजिलो र सुरक्षित हुने भएकाले त्यसैलाई कार्यान्वय गर्दै आएको उनीहरुको भनाई छ ।

कृषकलाई आवश्यक पर्ने मल बिउबिजन सबै चिज उपलव्ध गराउँदै आएको सहकारी स्थानीय ठाँउका निक्कै लोकप्रिय र प्रभावकारी देखिएको छ ।

लगानीको रकम ९५ प्रतिशतसम्म सुरक्षित असुली हुने गरेको व्यवस्थापक भट्टराइको भनाई छ । संस्थामा हाल ६ जना कर्मचारी कार्यरत छन् ।

सामाजिक र सामुदायिक कार्यमा बढी जोड दिंदै कारोबार अघि बढाएको सो सहकारी हाल बडाबारी चोक पूर्व आफ्नै नीजि भवनमा सञ्चालित छ ।

पृथ्वीनगर साना कृषि सहकारी संस्था लि. को निगरानीमा शुरु भएको सो सहकारी ४० वटा समूह निर्माण भएपछि ०५९ बैसाखमा स्थानीय सञ्चालकलाई हस्तान्तरण गरिएको थियो ।