दश दिने उद्यमशीलता तालिम विर्तामोडमा शुरु

विर्तामोड / स्थानीय स्तरमै महिलालाई उद्यमशील र स्वावलम्वी बनाउने उदेश्यले विर्तामोडमा आजदेखि उद्यमशीलता तालिम शुरु भएको छ ।
विर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा १० दिने उद्यमशीलता लालिम शुरु भएको हो । स्थानीय नवदुर्गा युवा क्लव र विर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो ।

तालिममा विर्तामोड नगरपालिका वडा नं ९ का ५० जना महिलाको सहभागिता रहेको छ । तालिममा गुडिया, माला र कुसन बनाउन सिकाइने बताइएको छ ।

विर्तामोड नगरउप–प्रमुख पवित्रा महतरा प्रसाईले तालिम प्रशिक्षक प्रनिता भण्डारी र मञ्जु पाठकलाई सामाग्री प्रदान गरेर तालिमको उद्घाटन गरेकी थिइन् ।

तालिमको उद्घाटन गर्दै उप–प्रमुख प्रसाईले महिलाहरुलाई हिनताबोध त्यागेर अघि बढ्न आग्रह गरिन् । महिलाले चाहेको खण्डमा पुरुषसरह जे पनि गर्नसक्छन् भन्दै उपप्रमुख प्रसाइले महिलाले घर व्यवहारमा मात्र नअल्झिई बाहिर निस्कन सके महिला शसक्तिकरणको अभियानले चाँडै सार्थकता पाउने बताइन् ।

१० दिनसम्म सिकेको सीप व्यवहारमा उतार्न सके महिलाले पुरुषका अघि हात पसार्न नपर्ने पनि उप–प्रमुख प्रसाइले बताइन् ।

उद्घाटन कार्यक्रममा नेकपाका विर्तामोड नगरअध्यक्ष ज्ञानुराम प्रसाईले तनमन लगाएर सीप सिके महिलाहरु आत्मनिर्भर बन्न बेर नलाग्ने धारणा व्यक्त गरे ।

सिकेको सीपलाई व्यवहारमा उतार्दै स्थानीय उत्पादनको बजारीकरण गर्नतर्फ लाग्न प्रसाईले सहभागीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा राप्रपाका नगर उपाध्यक्ष प्रकाश बुढाथोकीले नगरमा सञ्चालित महिला र युवा लक्षित कार्यक्रममा आफुले व्यक्तिगत तर्फबाटै भएपनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपाका विर्तामोड नगर-सचिव मोहन सुव्वा, वडा नं ९ की वडाध्यक्ष पवित्रा पाठक, वडा सदस्य हरी चौलागाई, नेपाली कांग्रेसका नेता भोला पौडेललगायतले मन्तव्य राख्दै तालिम फलदायी बनाउन आग्रह गरेका थिए ।

तालिम संयोजक सरोज पौडेलले तालिम सञ्चालनको औचित्यबारे प्रकास पारेको कार्यक्रमको सञ्चालन क्लवका अध्यक्ष प्रदिप संग्रौलाले गरेका थिए ।

वडासदस्य संगीता शिवाले स्वागत गरेको तालिम उद्घाटन समारोहको सभापतित्व टंकमाया मगरले गरेकी थिइन् ।