एसइईको तयारी पुरा, झापामा साढेपन्ध्र हजार विद्यार्थीले परिक्षा दिंदै

गोपिन पोखरेल-

विर्तामोड / १० चैतबाट शुरुहुने एसइई परिक्षाको झापामा सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई (शिवि तथा सई) झापाले जनाएको छ ।

एसइई परिक्षालाई मर्यादित र सुव्यवस्थित ढंगले सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्र बरालले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस

मोनिका एसइई दिने झापामै एक्ली दृष्टिविहिन विद्यार्थी

एसइईको तयारीका लागि चैत ५ गते बसेको जिल्ला परिक्षा समन्वय समितिको बैठकले केन्द्राध्यक्ष तोकेरे सबै परिक्षा केन्द्रमा पठाई सकिएको शिवि तथा सई प्रमुख बरालले तहल्का खबरलाई बताए ।

झापामा ५३ वटा परिक्षा केन्द्र, ५३ केन्द्राध्यक्ष र ७४ सहायक

झापामा ५३ वटा परिक्षा केन्द्र तोकिएका छन् । सबै परिक्षा केन्द्रमा ५३ जना केन्द्राध्यक्ष र ७४ जना सहायक केन्द्राध्यक्ष नियुक्त गरि अभिमुखिकरण तालिम दिएर पठाइसकिएको बरालले जानकारी दिए ।

१५ हजार ५ सय ८७ जना विद्यार्थीले एसइई परिक्षा दिंने

यसपटकको एसइइ परिक्षामा झापाबाट १५ हजार ५ सय ८७ जना विद्यार्थी सहभागी हुँदैछन् । त्यसमा नियमिततर्फ १५ हजार १८१ जना, नयाँ ग्रेड विधिमा ४०६ जना परिक्षार्थी सहभागी हुँदैछन् ।

अहिले एक्जाम्टेड नहुने हुनाले ग्रेड विधि नयाँ कोर्ष र पुरानो कोर्ष दुबै गरेर ४०६ जना सहभागी हुँदैछन् ।

ग्रेड विधि अन्तर्गतको परिक्षाका लागि महेन्द्ररत्न माविको परिक्षा केन्द्र विर्तामोड ‘ख’ मा कायम गरिएको छ । पाठ्यक्रम परिवर्तन भएका कारण पुरानो कोर्षबाट १४७ जना विद्यार्थीले परिक्षा दिंदैछन् ।

परिक्षामा सामेल हुने मध्ये साधारणतर्फ १४ हजार ७२८, नयाँ ग्रेड विधिमा २५९, पुरानो ग्रेडविधिमा १४७, प्राविधिक धारमा ३२२ र खुल्ला विद्यालयमा १३१ जना विद्यार्थी सहभागी हँदैछन् ।

विद्यालयको पूर्वाधार विकास, व्यवस्थापकीय सुधार र स्थानीय निकायको नियमित अनुगमनका कारण गतवर्षको तुलनामा यसपटक एसइई परिक्षाको नतिजा सुधार हुने अपेक्षा गरिएको  शिवि तथा सई प्रमुख बरालको भनाई छ ।

‘परिक्षाको अनुगमन जिल्ला परिक्षा समन्वय समितिले गर्नेछ’- शिवि तथा सई प्रमुख बरालले तहल्काखबरसँग भने ‘परिक्षालाई मर्यादित गराउन सबै केन्द्राध्यक्ष र सुरक्षा निकायसँग अन्तरक्रिया छलफल सम्पन्न भईसकेको छ ।’

प्याव्सनबाट करिब ४५ सय र एनप्याव्सनबाट ७५० जना विद्यार्थी सामेल

एसइई परिक्षामा प्याव्सनको तर्फबाट करिब ४५ सय विद्यार्थी सहभागी हुने प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेतीले जानकारी दिए । त्यस्तै, एनप्याव्सनको तर्फबाट करिब ७५० जना विद्यार्थी एसइईमा सहभागी हुने एनप्याव्सनका सचिव युवराज भट्टराइले जानकारी दिए ।

झापाबाट एसइईमा १ मात्र दृष्टिविहिन सहभागी

यसपटक एसइइमा झापा जिल्लामै १ जना मात्र दृष्टिविहिन विद्यार्थी सहभागी हुँदैछन् । दृष्टिविहिनका लागि विर्तामोडस्थित अनारमनी मावि परिक्षा केन्द्र ताकिएको जिल्ला लेखाजोखा केन्द्र झापाकी प्रमुख लुना शिवाकोटीले जानकारी दिइन् ।

बारदशी गाँउपालिका निवासी दृष्टिविहिन विद्यार्थी मोनिका चौहान साविक गरामनीको दुर्गा माविबाट परिक्षामा सामेल हुँदैछिन् ।

झापामा ६ जना बहिरा विद्यार्थीले एसइई दिने

त्यस्तै, यो पटक नियमित तर्फ ६ जना बहिरा विद्यार्थीले एसइई परिक्षा दिंदैछन् । कन्काई मावि सुरुङगामा अध्ययनरत ६ जना मध्ये १ छात्र र ५ जना छात्रा छन् ।

उनीहरुका लागि कन्काई नगरपालिकास्थित सरस्वतीमावि जामुनबाढी परिक्षा केन्द्र तोकिएको कन्काई माविका श्रोत शिक्षक वेदप्रकाश खतिवडाले जानकारी दिए । गतवर्ष ९ जना जना बहिरा विद्यार्थीले एसइई दिएका थिए ।

परिक्षामा सामेल मध्ये सबै उतिर्ण भएको जिल्ला लेखाजोखा केन्द्र झापाकी प्रमुख शिवाकोटीले जानकारी दिइन् ।

लेखाजोखा केन्द्र प्रमुख शिवाकोटीका अनुसार २०५६ सालदेखि ७४ सालसम्मको तथ्याङक हेर्दा झापामा ४५ जना दृष्टिविहिन र ६५ जना वहिरा गरी ११० जना फरक क्षमता भएका विद्यार्थीले एसइई परिक्षा उतिर्ण गरिसकेका छन् ।