पव्लिक स्पिकर उपाधी विजेता रमेश प्रसाईले गरे एकल कविता वाचन

विर्तामोड / सामाजिक सञ्जाल र युट्यूबमा लोकप्रिय (भाइरल) बनेका युवा कवि रमेश प्रसाईले आज विर्तामोडमा एकल कविता वाचन गरेका छन् ।

झापाली साहित्य समाजको आयोजनामा भएको एकल कविता बाचनमा प्रसाईले आफ्ना एक दर्जन नयाँ पुराना कविता वाचन गरेका थिए ।
पव्लिक स्पिकर सिजन टु का उपाधी विजेता समेतरहेका कवि प्रसाईको झापामा यो पहिलो एकल कविता वाचन हो ।

झापा स्थायी घर भएका कवि प्रसाईले साविक गरामनीको दुर्गा माविमा वाल्यकालदेखि नै अध्ययन गरेका थिए ।

सोसियल मिडिया र यूट्युबमा भाइरल रमेशले कार्यक्रममा बाल्यकालदेखि साहित्य लेख्न सिकाउने, पढ्न सिकाउने र संगीत सिकाउने गुरुहरुप्रति समर्पित कविता वाचन गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

कवि प्रसाईले देशभक्ती, द्वन्द, मायाप्रेम र भ्रष्टाचार र कुरिती विरुद्ध खरो उत्रने कविता बाचन गरेका थिए । उनले आफु ५ कक्षामा पढ्दा लेखेको यात्री शिर्षकको कविता बाचन गरे आफ्नो धाराप्रवाह कविता वाचन कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आफ्नो कविता वाचन गर्नु अघि कवि प्रसाईले झापाली श्रष्टा केशव आचार्यको १५ वर्षअघि सुनेको बारंगलाल भन्नुहुन्छ शिर्षकको कविता आफ्नै स्वरमा वाचन गरेका थिए ।

उनले अर्का कवि टंक विकल्पको मुटु भित्र नुन मट्टितेल दुख्छ शिर्षकको कविता पनि बाचन गरे । आफुले पुराना झापाली श्रष्टाको पदचाप पछ्याएको हुनाले अग्रज कविको कविता बाचन गरेर मात्र आफुले शुरु गर्ने बताए ।

कवि प्रसाइले आफुलाई शिक्षा दिने शिक्षक खिलप्रसाद शिवाकोटी, कृष्णप्रसाद पाठक, भिष्म नेउपानेलगायतलाई पटक पटक सम्झेका थिए ।

कार्यक्रममा कवि प्रसाईले शिक्षक खिलप्रसाद शिवाकोटीलाई जन्मदिनको उपहार सम्मान स्वरुप आफुले लगाइरहेको घाँटीको माला फुकालेर दिएका थिए । उनले साहित्यीक श्रष्टा र शिक्षकहरु प्रति देखाएको सम्मान र आदरले सभाहल केही समय भावुक समेत भएको थियो ।

उनले आफु पव्लिक स्पिकर थ्रिको लागि अनुबन्ध भइसकेकोले युट्युबमा नदेखिने एग्रिमेन्ट गरेको पनि बताए । उनले आफ्नो एकल कविता वाचनको भिडियो युट्युबमा नहालि दिन सहभागीलाई पटक पटक आग्रह गरेका थिए ।

प्रसाईले आजको दिन गुरुहरुका अघि रमेश प्रसाइले कति शिक्षा आर्जन गरेछ भनेर जाँच गर्ने दिन भएको बताए । ‘मलाई धेरै खुसी लागेको छ’- रमेशले भने ‘किनभने मलाई पढाउने शिक्षकको अगाडी मैले आज आफ्नो कविता बाचन गर्ने मौका पाए ।’

यो अवसर दिएकोमा झापाली साहित्य समाजलाई प्रसाईले धन्यबाद समेत दिए । अग्रज श्रष्टा तेजराज खतिवडाले कवि रमेशको कविताको टुक्रा वाचन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

झापाली साहित्य समाजका अध्यक्ष हरी बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मुक्तककार मदन भण्डारीले गरेका थिए ।

कवि रमेश प्रसाईको वाककला र कवित्व क्षमता नजिकबाट नियाल्न विर्तामोडको अतिथि सदनमा साहित्यकार, लेखक, शिक्षक, विद्यार्थी,व्यापारीलगायत सयौ सर्वसाधारणको उपस्थिति थियो ।

कार्यक्रममा दुर्गा मावि गरामनीको उत्पादन गायिका मेनुका पौडेलले स्वागत गीतका साथै विभिन्न गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा शिक्षक खिलप्रसाद शिवाकोटीले कवि रमेश प्रसाईको बाल्यकालदेखि हालसम्मको गतिविधि जानकारी गराएका थिए ।