दूधे बजारमा आगलागी लाखौंको क्षति

झिलझिले / झापाको शिवसताक्षी नगरपालिका दूधे बजारमा आज दिउसो एक काठको दुइतले घरमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

दिउसो करिब १ बजेतिर घरमा कोही नभएको मौकामा आगलागी भएको झिलझिले प्रहरीले जनाएको छ ।

शिवसताक्षी नगरपालिका ११ स्थित स्थानीय भगिरथ शिवाकोटीको दुईतले काठको घर जल्दा लत्ताकपडा, अन्नपातसँगै नगद सहित करिब सात लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख ढुण्डीराज गिरीले बताए ।

आगलागीका कारण यकिन नभए पनि विद्युत् सर्ट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शिवाकोटीको घरमा शंकर ठाकुर र अमर भुजेल डेरा गरी बस्ने गरेका थिए ।

आगलागीबाट उनीहरुको पनि सम्पूर्ण सामान जलेर नष्ट भएको छ । घरको केही बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

आगो स्थानीयबासी, प्रहरी र दमक नगरपालिकाको दमकलको सहायतमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।