ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा / धनकुटामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक सहचालक घाइते भएका छन् ।

दुर्घटनामा ट्याक्टर चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–५ का ३० वर्षीय जितन घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुनथलामा ट्याक्टर दुर्घटना भएको थियो ।

सोमबार राति साढे ११ बजे धनकुटाबाट तेह्रथुमतर्फ रड बोकेर जाँदै गरेको को२त ३१६६ नम्बरको ट्याक्टरको अगाडिको इन्जिन भाग छुट्टिएर भीरबाट २ सय मिटर तल खसेको थियो ।

ट्याक्टर पल्टिँदा सहचालक सोही स्थानका २९ वर्षीय रत्नबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।