इलाम नगरपालिकालाई अदालतको अन्तरिम आदेश

इलाम /  इलामको साङरुम्बा माध्यमिक विद्यालयमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन गर्ने इलाम नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश वीरेन्द्रकुमार कर्ण र तेजनारायण सिंह राईको संयुक्त इजलासले नगरपालिकाको निर्णयलाई यथास्थितिमा राख्न र विश्वकर्मालाई निमित्त प्रध्यानाध्यापकको रूपमा काम गर्न दिन आदेश गरेको हो ।

केही समयअघि नगरपालिकाले निमित्त प्रधानाध्याक मात्रिका विश्वकर्मालाई हटाएर नेत्र तामाङलाई निमित्त प्रअको जिम्मेवारी तोकेको थियो । विश्वकर्मामाथि आर्थिक पारदर्शिताको विषयमा छानबिन भइरहेको भन्दै नगरपालिकाले जिम्मेवारीबाट हटाएको थियो ।

नगरपालिकाले नगर शिक्षा नियमावली २०७४ (दोस्रो संशोधन) को नियम ५३ को उपनियम १५ बमोजिम विश्वकर्मालाई निमित्त प्रअको जिम्मेवारीबाट हटाएर तामाङलाई जिम्मेवारी दिएको थियो ।

तर, उच्च अदालतले भने विश्वकर्मा शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ बहाल रहेको र सोही ऐन, नियमावलीका आधारमा निमित्त प्रध्यानाध्यापकको रूपमा कार्यरत रहेको देखिएकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ । राजधानी दैनिकबाट