वडावासीको निःशुल्क स्वास्थ्य बीमा गर्दै हल्दिबारी दुई

गोपिन पोखरेल –

हल्दिबारी / झापाको हल्दिबारी गाउपालिका वडा नं २ ले वडावासीको निःशुल्क स्वास्थ्य बीमा शुरु गरेको छ ।

पहिलो चरणमा वडाका २९६ घर परिवारका चिया मजदुरको स्वास्थ्य बीमा गरेर लोकप्रिय कार्यक्रम शुरु गरेको २ नं वडाले दोस्रो चरणमा द्धन्द्ध पीडित, राजनीतिक बन्दीलगायत विभिन्न क्षेत्रका पीडित नागरिकको वीमा गर्ने भएको हो ।

हल्दिबारी २ ले नागरिकको स्वास्थ्यमा विशेष जोड दिंदै अघि सारेको स्वास्थ्य बीमा कार्यक्रमको सर्वत्र चर्चा हुनथालेको छ ।

वडा कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी निःशुल्क बीमाको कार्यक्रम शुरु गरेको हो ।

शहिद बेपत्ता परिवारको स्वास्थ्य बीमा, बालशिक्षकलाई साइकल

वडा कार्यालयले विभिन्न कारणले जेल जीवन विताउन बाध्य जेलबन्दी, अपाङ्ग, राजनीतिक बन्दी र उनीहरुको परिवार, जनमुक्ति सेनाका पूर्व लडाकु, जनयुद्धका विस्थापित परिवार, द्वन्द्वपीडित, विद्यालयका बाल शिक्षक, विद्यालयका कार्यालय सहयोगी र उनीहरुको परिवार साथै स्थानीय सक्रिय पत्रकार र उनको परिवारको पनि स्वास्थ्य बीमा गर्न शुरु गरिएको वडाअध्यक्ष राजेन्द्र योङ्हाङले जानकारी दिए ।

त्यस्तै, विद्यालयका बाल शिक्षक र कार्यालय सहयोगीलाई साइकल प्रदान गरिने पनि वडाअध्यक्ष योङ्हाङले बताए ।

त्यस्ता पीडित व्यक्ति र परिवारलाई १० हजारका दरले परिवार संख्या हेरेर ५० हजारदेखि १ लाखसम्मको बीमा गरिने अध्यक्ष योङ्हाङको भनाई छ ।

५ जनाको परिवार भए ५० हजार त्यसभन्दा माथि परिवार संख्या भए सोही अनुरुप गरिने बताइएको छ । हल्दिबारी २ मा त्यो सुविधा प्राप्त गर्ने करिब १५ परिवार हुनसक्ने अध्यक्ष योङ्हाङले जानकारी दिए ।

त्यस्ता व्यक्तिको पहिचान गर्न आवेदन माग गरेर तथ्याङ्क संकलनपछि सुविधा प्रदान गरिने बताइएको छ ।

कृषि यान्त्रिक मेसिन वितरण

सोही कार्यक्रममा वडा कार्यालयले धान, मकै तथा मसला पिस्ने कृषि यान्त्रिक मेसिन भेलागडी टोल बिकास संस्थालाई बितरण गरेको छ ।

हल्दिबारी गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य र वडा अध्यक्ष राजेन्द्र योङहाङको सभापतित्वमा कार्यक्रम भएको थियो ।

वडा सदस्य खगेन राजवंशीले स्वागत गरेको कार्यक्रममा लक्ष्मीप्रसाद दंगाल, लय प्रसाद शिवाकोटी ,इस्वरी दाहाल गंगा शिवाकोटी, कर्णखर प्रसाई ,टंकबहादुर प्राख्रिनलगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव बाबुराम ढकालले गरेका थिए ।

मजदुरलाई बीमासहित एम्बुलेन्स सुविधा

पहिलो चरणमा चिया मजदुर र उनका परिवारको बीमा गरेर शुरु गरिएको कार्यक्रम निक्कै प्रभावकारी देखिएको वडाअध्यक्ष योङ्हाङको भनाई छ ।

विमा गरिएका मजदुरलाई एम्बुलेन्स सुविधा समेत प्रदान गरेको छ । चिया मजदुरका परिवार विरामी पर्दा हस्पिटल जान आउन वर्षमा ४ पटकसम्म एम्बुलेन्स प्रयोगको सुविधा प्रदान गरिएको वडा अध्यक्ष योङ्हाङले जानकारी दिए ।

हस्पिटल जान आउन लागेको रकमको विल पेश गरेको खण्डमा मजदुरका परिवारले रकम फिर्ता पाउने गरेका छन् ।

त्यस्का लागि वडा कार्यालयले जनता उपचार तथा एम्बुलेन्स सेवा कोष समेत खडा गरेको छ ।  हालसम्म करिब १० जनाको परिवारले एम्बुलेन्स सेवा लिईसकेका छन् ।

प्रावि तहका विद्यार्थीलाई शैक्षिक सामाग्री

विभिन्न जनप्रिय कार्यक्रम गर्दै अघि बढेको हल्दिबारी वडा नं २ ले शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण कार्यक्रम अघि सारेको छ ।

वडाले गतवर्षदेखि नै स्थानीय ५ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।

सोही कार्यक्रम अन्तर्गत दोस्रो चरणमा पनि शैक्षिक सामाग्री हस्तान्तरणको कार्यक्रम रहेको योङ्हाङले बताए । प्रावि तहका विद्यार्थीलाई शैक्षिक सहयोग अन्तर्गत एकवर्षका लागि ३ दर्जन कापी, १ दर्जन इरेजर र १दर्जन कटर प्रदान गरिदै आएको छ ।