‘महिलाहरुले मौलिक सीपको प्रर्बद्धन गर्नुपर्छ’ -सांसद खरेल

विर्तामोड / प्रतिनीधिसभाकी सांसद् पवित्रा निरौला खरेलले महिलाहरुले आफ्नो सीप बेचेर व्यवसायिक बन्नसक्नु पर्ने बताएकी छन् ।

विर्तामोड नगरपालिका र नवदुर्गा युवा क्लवको संयुक्त आयोजनामा आयोजित उद्यमशीलता तालिम समापनका अवसरमा बोल्दै सांसद् खरेलले सो कुरा बताएकी हुन ।

तालिम समापनका अवसरमा मन्तव्य राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति एवम् सासद् खरेलले महिलाहरुले सिकेको सीपलाई प्रयोगमा ल्याए मात्र आर्थिक अवस्था मजबुत हुने बताइन् ।

सांसद् खरेलले महिलाहरुलाई सिकेको मौलिक सीपको प्रवद्र्धन गर्दै स्थानीय स्तरमै रोजगार बन्न आग्रह गरिन् ।

विर्तामोड नगरपालिका ९ स्थित नवदुर्गा युवा क्लव र विर्तामोड नगरपालिकाको साझेदारीमा चैत ६ गतेदेखि वडा नं ९ का महिलाहरुलाई लक्षित गरी १० दिने कुसन, गुडिया र माला निर्माण सम्बन्धि उद्यमशीलता तालिम आयोजना गरिएको थियो ।

तालिम समापनका अवसरमा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले सोच, चिन्तन र विचारमा परिवर्तन ल्याउनसके मात्र समाज विकास भएर जाने धारणा व्यक्त गरिन् ।

उपप्रमुख प्रसाईले युवा र महिलाहरुले गरेको काममा यस्तो उस्तो भनेर वडा कार्यालयले दुखेसो गर्नु बेकार भएको बताइन् । ‘यहाँका युवा साथीहरुले तालिम आयोजना गर्न लागिउ भनेर प्रस्ताव लिएर आउनु भयो’ -उपप्रमुख महतराले भनिन् -‘मैले ठिकै छ भनेर ओके गरिदिएकी हुँ ।’

युवाहरुले क्लवको तर्फबाट आयोजना गरेको कार्यक्रममा वडा कार्यालयले सरसल्लाह बिना कार्यक्रम गरेको भन्दै उपस्थिति नजनाएपछि वडाअध्यक्षको विषयमा चर्चा भएको थियो ।

समापनपछि सामुहिक तस्वीर खिचाउँदै अतिथि र सहभागीहरु


तालिम समापन कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का विर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईले महिला दिदी बहिनीहरुले १० दिनमा प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

कार्यक्रममा राप्रपाका नगर उपाध्यक्ष प्रकाश बुढाथोकी, लख्खीबारी टोल विकास संस्थाकी अध्यक्ष कमला पौडेल, तालिम प्रशिक्षक अस्मिता संग्रौला, प्रशिक्षार्थी कल्पना पौडेल, कालि मन्दिर टोल विकास संस्थाका अध्यक्ष रमेश डाँगी, तालिम व्यवस्थापक कमल अधिकारीलगायतले तालिम फलदायी बनाउन आग्रह गरेका थिए ।

क्लवका अध्यक्ष प्रदिप संग्रोलाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता क्लवकी उपाध्यक्ष टंकमाया मगरले गरेकी थिइन् ।

कार्यक्रममा तालिम संयोजक सरोज पौडेलले तालिम आयोजना गर्नुको औचित्य र उदेश्यमाथि प्रकाश पार्दै महिलाहरुलाई सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरेका थिए । महिलाहरुलाई ढुक्क भएर सामान उत्पादन गर्न आग्रह गर्दै संयोजक पौडेलले बजारको व्यवस्था गर्न सक्दो पहल गर्ने बताएका थिए ।

तालिममा वडाका ५७ जना महिलाहरुको सहभागिता रहेको थियो । समापनका अवसरमा तालिमका प्रशिक्षक मञ्जु पाठक, प्रमिला भण्डारी, अस्मिता भण्डारी, पार्वता ढकाललाई प्रसंशापत्र प्रदान गरिएको थियो भने तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रमाणपत्र कार्यक्रमकी प्रमुख अतिथि सांसद् खरेल, नगरउपप्रमुख महतरा प्रसाई, नेकपा नगरअध्यक्ष प्रसाईलगायतले प्रदान गरेका थिए । कार्यक्रममा विर्तामोड नगरपालिकाकी  कार्यपालीका सदस्य गिता घिमीरेको उपस्थिति थियो ।

१० दिन सम्म चलेको तालिममा वडा कार्यालयले कुनै सहयोग नगरेको र उपस्थिति समेत नजनाएको टिकाटिप्पणी भएको थियो ।

समापन कार्यक्रकमा सहभागी महिलाहरुले १० दिनसम्म सिकेको सीप प्रयोग गरि बनाएका माला, कुसन, गुडिया र खेलौलाहरु प्रदर्शन गरिएको थियो भने कार्यक्रमका अतिथिलाई सहभागीले बनाएको माला लगाएर स्वागत गरिएको थियो ।