महिलाको शव जलाइरहेको स्थानबाट श्रीमानसहित चार जना पक्राउ

रौतहट / रौतहटमा श्रीमतीको शव जलाइरहेको स्थानबाट श्रीमानसहित चार जना पक्राउ परेका छन् ।

रौतहटको गढीमाई नगरपालिका हरैया टोलकी २८ बर्षीया एक महिलाको हत्या गरी हतार हतार शव जलाएको आरोपमा श्रीमानसहित अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेका रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए ।

सुनीताको माइती पक्षले छोरीको हत्या गरिएको हनसक्ने भन्दै उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

सुनीतालाई श्रीमान, काका ससुरा, नन्दहरु मिलेर घरभित्रै कुटपिट गरी हत्या गरेको र हत्याको शंका नहोस् भनेर एम्बुलेन्समा राखेर वीरगञ्जतर्फ लगेको माइतीपक्षको आरोप छ ।

एम्बुलेन्समा वीरगञ्जतर्फ लैजाँदा बाटोमै मृत्यु भएको भनेर राति नै शव जलाउन लागेको भन्दै माइतीपक्षले प्रहरीलाई खबर गरेको थियो ।

सुनीताको शव जलाइसकेको भए पनि केही अवशेषहरु फेला पारी घटना शंकास्पद देखिएको हुँदा श्रीमान र परिवारका सदस्यलाई नियन्त्रणमा लिई अनुसन्धान सुुरु गरिएको प्रहरीले बताएको छ । अनलाइनखबरको सहयोगमा