भोलिबाट विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलिबाट दैनिक १० घण्टा बन्द हुँदैछ । २१ घण्टासम्म खोलेर सेवा दिइँदै आएको विमानस्थल अब ३ महिनासम्म १४ घण्टा मात्रै सञ्चालनमा आउनेछ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै विमानस्थल खुला हुनेछ ।

विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम भोलि सोमबारबाट सुरु गर्न लागिएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो ।

झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न लागिएको हो ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम सुरु गर्दैछ ।

नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाइनेछ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक अप्ठेरा आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको छ ।अनलाइनखबर