दमक औधोगिक पार्क र लखनपुरको रङ्गशाला चाँडै शुरु हुन्छ : प्रधानमन्त्री ओली

झापा / प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको औधोगिक पार्क र लखनपुरको अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्य चाँडै शुरु हुने बताएका छन् ।

आइतबार झापाको दमकमा प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत बाङ्मय सङ्गोष्ठी र नगरपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुई ठूला योजना तत्कल शुरु हुने बताएका हुन ।

दमक नगरपालिका र कमल गाँउपालिकाको साविक लखनपुरमा निर्माण गरिने भनिएका यी संरचना विवादका कारण शुरु हुन सकेका थिएनन् ।

प्रधानमन्त्री ओलीले सम्बृद्धिको लक्ष्य हासिल गर्नका लागि अब कसैको कुरा नसुनी आफु अघि बढ्ने बताए ।

दमकको औधोगिक पार्क र लखनपुरको अन्तर्राष्ट्रिय रंगशाला अब बन्छ उनले भने । विकास र समृद्धीको विरोध कसैले नगर्ने उनले विश्वास व्यक्त गरे ।

रंगशालाका लागि ५ देखि १० अर्ब लाग्ने र त्यो रकम आफुले जुटाउने ओलीले प्रतिबद्धता जनाए ।

ओलीले कला साहित्य र सस्कृतीको जगेर्ना गर्नका लागि बर्तमान सरकार प्रतिबद्ध रहेको जनाउदै त्यसतर्फ पनि बजेट अभाव हुन नदिने बताए ।

उनले नेपालको पहिचानलाई झल्काउने ग्रन्थ प्रकाशन र साहित्यिक जागरणका लागि सरकारले खर्चको अभाव हुन नदिने भन्दै प्राज्ञ प्रतिष्ठानलाइ योजना लिएर आउन आग्रह गरे ।

नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपती गंगाप्रसाद उप्रतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना लगायतले बोलेका थिए ।