बारा-पर्सामा हावाहुरीका कारण २७ जनाको मृत्यु, सयौं घाइते

आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । एक सय भन्दा घाइते भएको प्रहरीले जनाएको छ ।
भीषण हावाहुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा २६ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताए । पर्साको वीरगञ्ज महानगरपालिका–१२ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका र बृद्धबृद्धाहरु छन् ।

हावाहुरीका कारण सवारी दुर्घटना हुँदा समेत केही घाइते भएका छन् । हावाहुरीले धेरै सर्वसाधरणको घर समेत उडाएको छ । हावाहुरीका कारण बिजुलीका पोल, रुख र पर्खाल ढलेर सर्वसाधरणलाई किचेको थियो । एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । राति अबेरसम्म उद्धार गरिएको डिआईजी पालले बताए । नयाँपत्रिका