प्रधानमन्त्री ओली घटनास्थल बारापर्साको स्थलगत अनुगमन गर्दै

रासस -भद्रपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गृह जिल्ला झापामा सोमबार हुने भनिएका तीन वटा कार्यक्रम स्थगित गर्दै प्रम ओली प्राकृतिक प्रकोपबाट भएको मानविय क्षतिको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै समवेदना र श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

प्रम ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट प्रवावित क्षेत्र बारा पर्सा अनुगमनका लागि गएका हुन ।

प्रधानमन्त्रीसहितको टोली सोमबार १२ बजे झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत प्रस्थान गरेका छन् ।

सो अवसरमा गृहमन्त्री थापाले गृहमन्त्रालयमा हालसम्म मृत्यु हुने २७ जना र सात सय बढी घाइते भएको विवरण प्राप्त भएको जानकारी दिए ।

मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको बताए । उनले घटनास्थलमा पुगेर अनुगमन गरेपछि आवश्यकता अनुसारको राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताए ।