बार एशोसिएशनमा प्रगतिशील समूहको अग्रता

काठमाडौँ / कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा जारी छ ।

हालसम्मको मतगणना अनुसार प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिइरहेका छन् ।

झापा, इलाम र उच्च अदालत विराटनगरको ३०९ मतगणना गर्दा श्रेष्ठले १९६ मत प्राप्त गरी अग्रता लिएका हुन । बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले १०९ मत प्राप्त गरेका छन् ।

मतगणना सोमबार साँझ ५ बजेदेखि शुरु भएको थियो । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको थियो ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा तीनवर्षे नयाँ नेतृत्वका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।