सहकारी दिवशको भव्य तयारी, दिवशमा सहकारी अभियन्ता र सञ्चारकर्मीलाई पुरस्कृत गरिने

विर्तामोड / ६२औं  राष्ट्रिय सहकारी दिवश भव्य ढंगले मनाउन सम्पूर्ण तयारी पूरा भएको झापा जिल्ला सहकारी संघले जनाएको छ ।

दिगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी भन्ने नाराका साथ झापाको सताक्षीधाम स्थित दुधे बजारमा यसपटकको सहकारी दिवश मनाउन मंगलबार विर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

२०१३ साल २० चैतमा औपचारीक रुपमा पहिलो सहकारी संस्था स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष २० चैतमा सहकारी दिवश मनाउँदै आएको छ ।

शिवसताक्षीको दुधे बजारमा हुने बृहत सहकारी दिवशको उद्घाटन प्रदेश नं १ की उपसभामुख सरस्वती पोखरेलले गर्ने कार्यक्रम तय भएको जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिएका छन् ।

सहकारी दिवशका अवसरमा सदाझँै यसपटक पनि सहकारी अभियानमा लाग्ने उत्कृष्ट संस्था, सहकारीकर्मी, उत्कृष्ट सञ्चालक, उत्कृष्ट व्यवस्थापक, उत्कृष्ट सञ्चारमाध्यम र अग्रज सञ्चारकर्मीलाई सम्मान गर्न लागिएको छ ।

जिल्ला संघका अध्यक्ष गणेश ढकालले दिएको जानकारी अनुसार यसवर्ष उत्कृष्ट सहकारी व्यक्तित्व सम्मानबाट संघका पूर्व अध्यक्ष हरीचरण बानियाँ, संघका पूर्व सञ्चालक भोजकुमारी नेपाललाई पुरस्कृत गरिदैछ ।

त्यस्तै, उत्कृष्ट सहकारी सञ्चालक पुरुषबाट सञ्जीवनी साकोस विर्तामोडका याम चुडाल, उत्कृष्ट सहकारी सञ्चालक महिला पुरस्कारबाट न्यू पशुपति साकोस बुद्धशान्तिकी खिनमाया बाँस्तोला खतिवडालाई सम्मान गर्न लागिएको हो ।

त्यस्तै, यसवर्षको उत्कृष्ट सहकारी व्यवस्थापक पुरुषको रुपमा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक फडिन्द्रबहादुर कार्की, उत्कृष्ट सहकारी व्यवस्थापक महिलाको रुपमा भानु बहुमुखी सहकारी संस्था मेचीनगरकी व्यवस्थापक चन्दा सिटौलालाई पुरस्कृत गरिंदैछ ।

उत्कृष्ट सञ्चार गृहका रुपमा मेचीनगरको लोकतन्त्र पोष्ट दैनिक र उत्कृष्ट पत्रकारका रुपमा पूर्वसन्देश दैनिक दमकका सम्पादक गञ्जबहादुर दाहाललाई पुरस्कृत गरिने भएको छ ।

त्यसैगरी, दुर्गेश्वरी कृषि सहकारी संस्था लि. मेचीनगर, धौलागिरी पारिजात बहुउश्यीय सहकारी संस्था लि विर्तामोड, कलवलगुरी सहकारी संस्था लि भद्रपुर, श्रद्धा कृषि सहकारी संस्था लि. अर्जुनधारा, चौतारी बचत तथा ऋण सहकारी संस्था लि. शिवसताक्षी र जुरोपानी साना किसान कृषि सहकारी संस्था लि. गौरादहलाई पनि यसवर्षको सहकारी दिवशको अवसरमा सम्मान गरिने भएको छ ।

दिवशको अवसरमा सहकारीका सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दैै साना किसान सहकारी संस्थाहरुको पहलमा क्यान्सर विरुद्ध सचेतना अभियान तथा निःशुल्क चेकजाँच क्याम्प राखिएको पनि जानकारी दिइयो ।

क्यान्सर विरुद्धको अभियानमा डा. सुधा त्रिपाठीको नेतृत्वमा अभियानकी सद्भावना दुत पूर्व मिस नेपाल सुगारिका केसीकोे पनि उपस्थिति रहने छ । दिवश भव्य ढंगले मनाउन झापाका सफल सहकारीको डकुमेन्ट्री, सहकारी प्रशिक्षण केन्द्रको प्रस्तावित थ्रिडि भिडियो निर्माण सम्पन्न गरिएको पनि अध्यक्ष ढकालले जानकारी दिएका छन् ।

सदाझैं यसवर्ष पनि सहकारी संस्था र सहकारी सदस्यहरुको प्रोत्साहन गर्न जिल्लाका सहकारी उत्पादनको २० वटा स्टल समेत राखिएको छ ।

झापा बाहेकका सहकारी संस्थासँग सम्बन्ध विस्तार गर्न इलाम र पाँचथर जिल्लाका सहकारी संघले पनि स्टल राख्ने कार्यक्रम तय भएको कार्यक्रममा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र संघका सदस्य कृष्ण मिश्रले राष्ट्रिय सहकारी दिवसको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका थिए ।

सो अवसरमा संघका सदस्य कृष्ण मिश्रले झापाका सहकारी संस्थाहरुले नेपालमै सबैभन्दा बढी ४१.७ प्रतिशत वित्तिय कारोबार गदैै आएको पछिल्लो तथ्याङक प्रस्तुत गरेका थिए ।

झापामा बैंकहरुले करिब ३७ प्रतिशत वित्तिय कारोबार गर्ने गरेको र सहकारी संस्थाले त्यो भन्दाबढी ४१ प्रतिशत कारोबार गर्दै आएको हुँदा सहकारी अभियानले सार्थकता पाउदै गएको धारणा राखेका थिए ।