सहकारी दिवश भव्य रुपमा सम्पन्न

दुधे / झापामा ६२औं राष्ट्रिय सहकारी दिवश भव्य ढंगले मनाइएको छ ।

‘दिगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी’ भन्ने नाराका साथ झापाको सताक्षीधाम स्थित दुधे बजारमा बुधबार हजारौंको उपस्थितिमा यसपटकको सहकारी दिवश मनाइएको हो ।

सहकारी दिवसको उद्घाटन प्रदेश नं १ की उपसभामुख सरस्वती पोखरेलले गरेकी थिइन ।

कार्यक्रमको उद्घाटन गर्दै उपसामुख पोखरेलले महिला सशक्तिकरणको लागि सहकारी अभियान सबैभन्दा राम्रो औजार भएको बताइन् । सहकारीमा ५० प्रतिशतभन्दा बढी महिला सहभागिताले महिला सशक्तिमरणमा बल पुगेको बताइन् ।

सहकारी दिवसका अवसरमा यसवर्ष उत्कृष्ट सहकारी व्यक्तित्व सम्मान तथा नगद पुरस्कार पुरुषतर्फ हरिचरण बानियाँ र महिलातर्फ भोजकुमारी नेपाललाई प्रदान गरिएको छ । बानियाँ संघका पूर्व अध्यक्ष हुन् भने शिवसताक्षी नगरपालिकाका उपप्रमुखसमेत रहेकी नेपाल संघका पूर्व सञ्चालक हुन् ।

यसरी नै उत्कृष्ट सहकारी सञ्चालक पुरुषतर्फ संजीवनी साकोस बिर्तामोडका अध्यक्ष यामकुमार चुँडाल र महिलातर्फ न्यू पशुपति साकोस

बुद्धशान्तिका अध्यक्ष खिनमाया बाँस्तोला खतिवडा पुरस्कृत र सम्मानित भएका छन् ।

सहकारी कर्मचारीलाई प्रदान गरिने उत्कृष्ट व्यवस्थापकको पुरस्कार पुरुषतर्फ नवोदय बहुउद्देश्यीय सहकारीका फडिन्द्रबहादुर कार्की र महिलातर्फ भानु बहुमुखी सहकारी संस्था मेचीनगरका चन्दा सिटौला पुरस्कृत भएका छन् ।

यो वर्ष सहकारी पत्रकारिता पुरस्कार दमकबाट प्रकाशन गरिने पूर्वसन्देश दैनिकका सम्पादक गञ्जबहादुर दाहाललाई प्रदान गरिएको छ । यसैगरी, उत्कृष्ट सञ्चार गृहका रुपमा मेचीनगरबाट प्रकाशन हुने लोकतन्त्र पोष्टलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी, दुर्गेश्वरी कृषि सहकारी संस्था लि. मेचीनगर, धौलागिरी पारिजात बहुउश्यीय सहकारी संस्था लि विर्तामोड, कलवलगुरी सहकारी संस्था लि भद्रपुर, श्रद्धा कृषि सहकारी संस्था लि. अर्जुनधारा, चौतारी बचत तथा ऋण सहकारी संस्था लि. शिवसताक्षी र जुरोपानी साना किसान कृषि सहकारी संस्था लि. गौरादहलाई पनि सहकारी दिवशको अवसरमा सम्मान गरिएको छ ।

दिवशको अवसरमा सहकारीका सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दैै साना किसान सहकारी संस्थाहरुको पहलमा क्यान्सर विरुद्ध सचेतना अभियान तथा निःशुल्क चेकजाँच क्याम्प राखिएको थियो ।

क्यान्सर विरुद्धको अभियानमा डा. सुधा त्रिपाठीको नेतृत्वमा अभियानकी सद्भावना दुत पूर्व मिस नेपाल सुगारिका केसीकोे पनि उपस्थिति थियो ।

यसवर्ष  सहकारी संस्था र सहकारी सदस्यहरुको प्रोत्साहन गर्न जिल्लाका सहकारी उत्पादनको २० वटा स्टल समेत राखिएको छ । झापा बाहेकका सहकारी संस्थासँग सम्बन्ध विस्तार गर्न इलाम र पाँचथर जिल्लाका सहकारी संघले पनि स्टल राखियो ।

दशौं हजारको संख्यामा सहकारीकर्मी उपस्थित भएर सव्य र भव्य ढंगले सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र सहसचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको समारोहलाई उपाध्यक्ष गीता कुँवरले स्वागत गरेकी थिइन् ।