जेसीआई नेपालको नेशनल ट्रेनिङ कमिस्नरमा एकराज गिरी मनोनित

बिर्तामोड / नेपाल जेसीज सन् २०१९ को नेशनल ट्रेनिङ कमिस्नर (राष्ट्रिय तालिम आयुक्त)मा वीरता जेसीजका निवर्तमान अध्यक्ष एकराज गिरी मनोनित भएका छन् ।

राष्ट्रिय अध्यक्ष महेश पौडेलले गिरीलाई राष्ट्रिय तालिम आयुक्तमा मनोनित गरेका हुन् । राष्ट्रिय तालिम आयुक्तमा मनोनित सँगै गिरीलाई राष्ट्रिय अध्यक्ष पौडेलले जेसीज अभियानलाई सार्थक परिणामसहित उच्च स्थानमा पुर्याउन अहम् भूमिकाका निम्ति शुभकामना पनि व्यक्त गरेका छन् ।

सन् २००४ बाट विनोद बस्नेतको प्रेरणाले जेसीज अभियानमा प्रवेश गरेका गिरी सन् २०१८ मा वीरता जेसीजका अध्यक्ष भएका थिए ।

आफ्नो कार्यकालमा चार पटकसम्म जेसी अफ द मन्थको अवार्डसहित वीरता जेसीजलाई देशभरकै उत्कृष्ट शाखाको अवार्ड दिलाउन उनी सफल भएका थिए । गिरी नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष समेत हुन् ।

नेपाल जेसीजको राष्ट्रिय तालिम कमिटीमा चारवटै एरियाबाट ट्रेनिङ कोअर्डिनेटर समेत मनोनित गरिएको छ । जसमा एरिया ए ट्रेनिङ कोअर्डिनेटरमा मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा मनोनित भएकी छिन् ।

त्यस्तै एरिया बी ट्रेनिङ कोअर्डिनेटरमा पोखरा जेसीजका शिव सुवेदी, एरिया सी ट्रेनिङ कोअर्डिनेटरमा कपन जेसीजका विकास श्रेष्ठ र एरिया डी ट्रेनिङ कोअर्डिनेटरमा नेपालगञ्ज जेसीजका अर्जुन भट्टराई मनोनित भएका छन् ।

सुवेदी, श्रेष्ठ र भट्टराई सन् २०१८ मा आफ्नो शाखामा अध्यक्ष बनेका थिए ।

युवाको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशीलताको विकास सँगै समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्ने जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि वर्ष सन् २०१९ मा देशभर तालिम अभियान सञ्चालन गर्ने बताइएको छ ।

राष्ट्रिय तालिम आयुक्तमा मनोनित गिरीले राष्ट्रिय अध्यक्ष पौडेलसहित नेपाल जेसीज बोर्डलाई धन्यवाद ज्ञापन गर्दै युवाको व्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि तालिम अभियान सञ्चालन गर्न देशभरका शाखालाई आह्वान गरेका छन् ।

तालिम सञ्चालन गर्दा आफ्नो एरियाका ट्रेनिङ कोअर्डिनेटरसहित निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र निरुपित राष्ट्रिय उपाध्यक्षसँग समन्वय गर्न पनि गिरीले आग्रह गरेका छन् ।