चारआलीको पाउ पाथीभरा धाममा श्रीमद्ब्रम्ह महापुराण लाग्ने

चारआली / झापाको मेचीनगर १३ चारआलीस्थित पाउ पाथीभरा धाममा श्रीमद्ब्रम्ह महापुराण लाग्ने भएको छ ।

श्रीमद्ब्रम्ह महापुराणमा दैनिक पाठ पारायण, कथा प्रवचन, पुजन हवन गरिने पुराण आयोजक मुल समितिले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

चैत २३ गतेदेखि ३० गतेसम्म लाग्ने श्रीमद्ब्रम्ह महापुराणको शनिबार बरुण यात्रा तथा पुराण समुद्घाटन गरिने कार्यक्रम छ ।

२४ गतेदेखि दैनिक विहान ७ बजेदेखि ९ बजेसम्म पुजन, ९ देखि ११ बजेसम्म पाठपारायण, ११ बजेदेखि ४ बजेसम्म कथा प्रवचन, ६ बजेदेखि १० बजेसम्म माहात्म्य भजन गरिने बताइएको छ ।

पुराण प्रमुख बाचक आचार्य पंडित सोमनाथ गौतम तथा उपबाचक आचार्य पं रामशरण सापकोटाबाट कथा बाचन पाठ पारायण, संगतिमय भजन किर्तन गरिने छ ।

पाउ पाथिभरा धाम एवम् मुल आयोजक समितिले पाउ पाथिभरा धाम स्थापना भएपछि प्रत्येक वर्ष पुराण लगाउँदै आएको छ ।

त्यसकै निरन्तरता स्वरुप रामनवमीको अवसरमा १८ पुराण क्रमश लगाउँदै जाने आयोजकको लक्ष्य छ ।

पाउ पाथिभरामा लाग्दै आएको पुराणमध्ये यो चौथो पुराण हो । पुराणको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्ने छन् ।

पुराण लगाउनुको उद्देश्य विशुुद्ध धार्मिक संरक्षण र धर्मरक्षा रहेको मूल आयोजक समितिका अध्यक्ष हरीचरण बानियाँले बताएका छन् ।

पुराणको सम्पूर्ण तयारी पुरा भएको र पुराणले यस ठाँउलाई धामको रुपमा विकास गर्ने लक्ष्य लिइएको पुराण प्रचारप्रसार संयोजक लोकराज ढकालले बताए ।

पुराण नाफा घाटाका लागि नभई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लगाइएको ढकालको भनाई छ ।