चट्याङले लागेर झापामा एकको मृत्यु, दुईजना घाइते

झापा / शनिबार विहान पानीसँगै परेको चट्याङले लागेर झापामा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार चट्याङ लागेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउत छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत रहेका छन् । उनीहरु दुवैको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।

विहान ८ बजे खेतमा काम गरिरहेका बेला राउत परिवारलाई चट्याङ लागेको थियो । चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा प्रकाशको मृत्यु भएको प्रहरीले जनाएको छ ।