कविता- नादान प्रकृति…..!!! -कृष्णप्रसाद पाठक

तिमी उदण्डता बोकेर आयौ
हलचल र त्रासदी मच्चाएर गयौ
नहुनेमाथि विपत्ति खन्याएर
तिमीले कुन ठूलो युद्ध जित्यौ !

तिमी कायर र हुतिहारा नै रहेछौ
अरुको भाग पनि खोसेर हसुर्नेहरुलाई
रौँ जत्ति पनि विचलित पार्न सकेनौं
आफ्नाको मात्र जयगान गाउनेहरुको
घरसम्म पुग्ने आँट र हिम्मत नै गरेनौं !!

नेपालको झण्डा उठाउँदै र फहराउँदै
यो त छिमेकीको भूमि हो भन्नेहरूलाई
काँक्रो झै देशलाई चिरेर भाग लगाउन
उद्दत खुनी जल्लादी हातहरुलाई
अनि रस चुसेर खोईलो फ्याँके झै
चेलीहरुको अस्मिता लुटेर प्राण हर्नेहरुलाई
महाभारतको सभा सकुनीको इशारामा चलेझै
नेपाल आमाको इज्जतको व्यापार गर्नेहरुलाई
तिमीले के गर्न सक्यौ र !!

शारीरिक बललाई पसिनामा रुपान्तरण गरेर
थकित र जिर्ण शरीरका मान्छेहरूलाई
अमृत नआए पनि दुधका मुन्टा चुसाउदै
दुधे बालकलाई सुताउने आमाहरुलाई
हरेक क्षण र हरेक पल देशको माटोलाई
माया गरेर सुम्सुम्याउने हातहरुलाई
बाँडेर खाने र सबैलाई बाँच्न साहस भर्ने
ती न्यायका बफादार पहरेदारहरुलाई
लुकेर आएर, एकै झट्कामा
प्राण पखेरु हरेर लग्यौ
र स्वर्गरुपी गाउँलाई
हेर्दाहेर्दै निमेषभरमा
स्मशानघाट र खण्डहर बनायौ
अब भन तिमीले के पायौ !!

दुईकोसा केरा र एकमूठी चामलमा
सेल्फी खिच्नेको भिड लगायौ
केही असर नपरेकाको घरआगनमा
तिथिमितिले नभेटेको दशैँ बोलायौ
आलिशान महल ज्यूँकात्यूँ राखेर
टाटीवेरा थाहा छैन कहाँ पुर्यायौ !!

आर्तहरु चिच्याइरहेका थिए
तिमी रमिता देखाइरहेथ्यौ
चिल्ला गाडीमा आउने सुकिलाहरुलाई
घुमफिरको बहाना बनाइ दिएथ्यौ
त्येसैले तिमी कहिले आउनु हुदैन
जहाँ जानू थियो नगएर बाटो बिरायौ !!

दुःखको पहाड सकिनसकी बोकेकाहरुलाई
प्रकृति तिमीले पनि वेघरवार बनायौ
रुदा रुदा आँशु रित्तिएका आँखाहरुबाट
बेपर्वाह रगतको बाढी नै कुदायौ
त्येसैले तिम्रो बल मिचाई र दुष्कर्ममा
एकचोटी गर्जन मन लाग्यो
मुर्दावाद ! मुर्दावाद !!

(बारा र पर्सामा हावा हुरीमा ज्यान गुमाउने प्यारा नेपालीहरुमा (प्रति समर्पित) भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदना छ )
कृष्णप्रसाद पाठक- / श्री दुर्गामावि गरामनीका प्रधानाध्यापक हुन् ।