पूर्वार्ध कृषि सहकारी र अर्जुनधारा नपाबीच दूध खरिद बिक्री सम्झौता

अर्जुनधारा / पूर्वार्ध कृषि सहकारी संस्था र अर्जुनधारा नगरपालिकाका बीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी आज ९ बुँदे सम्झौता भएको छ ।

अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रम समूहमा उत्पादित दूध खरिद गर्ने कार्यका लागि पूर्वार्ध कृषि सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगसँग शुक्रबार सम्झौता गरिएको हो ।

उक्त सम्झौतामा अर्जुनधारा नगरपालिकाद्वारा सञ्चालित पशु पकेट प्याकेज कार्यक्रम अन्तर्गत खुदुनाबारी कृषक समितिले उत्पादन गरेको दूध पूर्वार्ध डेरी उद्योगले खरिद गर्ने तथा दूधको मूल्य नेपाल सरकारले तोकेको दूधको गुणस्तरअनुसार एसएनएफ र फ्यटको आधारमा निर्धारण गरी किसानलाई भुक्तानी गरिने उल्लेख छ ।

त्यसैगरी, डेरी उद्योगले खुदुनाबारी कृषक समूहका कृषकहरुलाई शेयर प्रदान गर्ने, बजारीकरण गर्नको लागि नगरले खुवा मेसिन तथा आइस क्रिम मेसिन खरिद गर्न र अन्य कार्यको लागि सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतामा दूध चिस्यान गरेवापत प्रतिलिटर एक रुपैयाँका दरले डेरी उद्योगले कृषक समूहलाई थप रकम दिनुपर्नेछ । उद्योगले समूहलाई टिएस रकम वापत २० प्रतिशतले प्रदान गर्ने, नगरपालिकाले सहयोग गरेवापत डेरी उद्योगले कृषकहरुलाई लाभदायक कार्यक्रमहरु सञ्चालन गर्ने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिएका छन् ।

त्यस्तै, डेरी उद्योगले विषय परिस्थिति बाहेक मिल्क होली डे नगर्ने, ऐन नियम अन्य कुराहरु फरक परेमा आवश्यकता बमोजिम आपसी समाझदारीमा थपघट तथा परिर्वतन गर्ने सक्नेगरी सम्झौता भएको उनले जानकारी दिए ।

नगरप्रमुख हरिकुमार रानाको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल र सहकारी संस्थाको तर्फबाट अध्यक्ष कमल भण्डारीले हस्ताक्षर गरेका छन् ।

चालू आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिकाले वडा नं. २ खुदुनाबारी क्षेत्रलााई पशु पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।