सिम्रिक साकोसले गर्यो सदस्य शिक्षा तालिममा नारी सञ्चार गृहलाई २५ हजार सहयोग

बिर्तामोड / सिम्रिक साकोसले आज बिर्तामोडमा आयोजना गरेको नयाँ शेयर सदस्यहरुलाई स्वागतसहित सदस्य शिक्षा तालिमका अवसरमा नारी सञ्चार गृहलाई २५ हजार नगद सहयोग प्रदान गरेको छ ।
प्रदेशसभा सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा आयोजित तालिमका अवसरमा नारी सञ्चार गृह झापालाई २५ हजार रुपैयाँ नगद सहयोग गरिएको हो ।

सिम्रिक साकोसले सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’का लागि पच्चीस हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । सहकारीले गृहकी अध्यक्ष अम्बिका भण्डारीलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का सांसद झलकसिंह दर्लामी, संस्थाका अध्यक्ष कमल बस्नेत र शिक्षा तालिमका संयोजक सुवास भट्टराईले संयुक्त रुपमा भण्डारीलाई नगद हस्तान्तरण गरेका हुन् ।

सञ्चार गृहले झापाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नका लागि सो अक्षयकोषको स्थापना गरेको हो ।

सदस्य शिक्षा तालिमको बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले सहजीकरण गरेका थिए ।

संस्थाका सचिव एवम् शिक्षा तथा तालिम समितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

सदस्य शिक्षा तालिमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको वित्तीय अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका १६ जना सदस्यहरुलाई राहत प्रदान गरिएको छ ।

तालिम संयोजक बस्नेतका अनुसार संस्थाका तीनजना शेयर सदस्यको निधन भएकाले उनीहरुले लिएको कर्जा मिनाहासहित मृत्यु बीमा सुविधा तिनका परिवारलाई प्रदान गरिएको छ ।

यसरी नै तीन जना सदस्यको खुट्टा भाँचिएकाले उपचार खर्च र १० जनालाई पेटको, एपेन्डीसाइट्स लगायत उपचार सहयोगका लागि राहत प्रदान गरिएको छ ।