प्रदेश १ स्तरीय ‘इकोम मिस एसईई’ विर्तामोडमा हुने

विर्तामोड / एसईई परिक्षा दिएर बसेका किशोरीहरुको क्षमता प्रस्फोटन गराउने उदेश्यले झापाको बिर्तामोडमा प्रदेश १ स्तरीय सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

ड्रिम्सवल्र्ड इन्टरटेण्मेन्टको व्यानरमा इकोम मिस एसईई प्रोविन्स वान २०१९ को तयारी भएको छ ।

झापामा प्रतियोगिताको यो चौथौ संस्करण हो । प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका एसईई परिक्षा दिएका किशोरीहरुले भाग लिन पाउने छन् ।

जसका लागि झापाको बिर्तामोडसहित, इलाम सदरमुकाम, सुनसरीको इटहरी, मोरंगको बिराटनगर, उदयपुरको गाईघाट सहितका जिल्लामा छनौट कार्यक्रम शुरु भएका छन् ।

प्रदेश १ बाट ३० जना किशोरीहरुलाई समावेश गरि प्रतियोगिता सञ्चालन गरिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिएका छन् ।

प्रतियोगितामा समावेश स्पर्धीहरुलाई मिस नेपालको ढाचामा एक महिना बन्दसत्रमा राखि व्यक्तित्व तथा नेतृत्व बिकास, आत्मविश्वास, पब्लिक स्पिकींग, मोडलिंगलगायत ३५ बिधामा प्रशिक्षण दिइने छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेष्ठको दोस्रो साता हुनेछ । प्रतियोगिताको बिजेताले सिधै मिस प्लानेट नेपालमा भाग लिने पाउने छन् ।

बिजेताले ५० हजार राशी नगदसहित उच्च शिक्षाका लागी छात्रबृत्ती प्राप्त गर्ने आयोजक संस्थका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए । प्रतियोगितालाई इष्टन एम्पायर कलेज अफ होटल म्यानेजमेन्टले टाइटल स्पोन्सर गरेर साथ दिएको छ ।