राजेन्द्र लिङदेनलाई मार्न धम्की दिनेको आफ्नै विर्वाचन क्षेत्रका कुन नेतासँग छ कनेक्सन ? (भिडियोसहित)

झापा / झापा क्षेत्र नं ३ का प्रतिनीधिसभा सांसद राजेन्द्र लिङदेनले आफ्नो ज्यान मार्ने धम्कीको कारण आर्थिक प्रलोभन मात्रनभई आफ्नै क्षेत्रका ‘नेता’ र आपराधीक गिरोहसँग ‘कनेक्सन’ रहेको बताएका छन् ।

‘आर्थिक लाभले मात्र ज्यान मार्ने धम्की आएको होला भन्ने ‘एङ्गल’ बाट हेरिराखिएको थियो’ सांसद लिङदेनले भने- ‘तर घटनामा प्रयोग भएको फोनबाट झापाकै ३/ ४ जना ‘राजनीतिक’ र ‘क्रिमिनल’ पृष्ठभूमि भएका मान्छेसँग ‘कनेक्स’ देखिएपछि घटना झन् रहस्यमय बन्यो ।’

बुधबार विर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै सांसद लिङदेनले भने- ‘मैले एकदमै नजिकबाट चिनेको तर कुनै ‘क्राइम’मा परेर छुटेको । उसले त्यस्तो अपराध गर्न चाँही सक्ने । तर, मसँग चाँही गर्दैन होला भन्ने विश्वास भएको मान्छेसँग धम्की दिनेको ‘कनेक्सन’ देखिएपछि घटनाले अर्कै रुप लिएको हो ।’

भिडियो

http://https://youtu.be/ehj1U5ZGr8I

विभिन्न ‘एङगल’बाट गरिएको अनुसन्धानले आफ्नै निर्वाचन क्षेत्रका नेता र आपराधिक क्रियाकलापमा संलग्नसँग ‘कनेक्सन’ भएको देखिएपछि अलि ‘सिरियस’ भएर प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिविआइ)ले अनुसन्धान गरेको उनले बताए ।

लिङदेनले भने पक्राउ परेका व्यक्तिको आफ्नै निर्वाचन क्षेत्रका ‘क्रिमिनल एक्टिभिटिज’ मा संलग्न र राजनीतिक नेतासँग फोन सम्पर्क देखिएपछि ठूलै घटना हुन लागेको छकि भनेर प्रहरीले गहिरिएर अनुसन्धान गरिरहेको छ ।

सांसद लिङदेनलाई धम्क्याउने झापा बनियानीका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरिसकेको छ ।

हुम्लाका प्रदिप रोकाले भने पराजुलीलाई आफ्नो नागरिकता दिएर एनसेलको सिम निकाल्न सहयोग गरेको देखिएको छ । ‘धम्की दिएको सिमको आधारमा अनुसन्धान गर्दा हुम्लाका प्रदिप रोकाको नाम आएपछि हामी हुम्लातिरै केन्द्रित भएका थियौं’- सांसद् लिङदेनले भने- ‘कल डिटेल्स’ हेर्दा एक्कासी आफ्नै निर्वाचन क्षेत्र झापाका मान्छेको नाम आएपछि ‘केशले’ अर्कौ रुप लियो ।’

चैत ७ गते नेपाल टेलिकमको ९८४३९४७२९४ नं र एनसेलको ९८१३४४९२९बाट सुभेच्छुक जस्तो बनेर अज्ञात व्यक्तिले फोन र ह्वाट्एपमा म्यासेज पठाएर धम्क्याउने शिलशिला शुरु गरेको लिङदेनले बताए ।

त्यो धम्क्याउने व्यक्ति अरु कोही नभएर आफनै निर्वाचन क्षेत्रको तिलकदास पराजुली नै रहेको पुष्टि भएको प्रहरीलाई उदृत गर्दै लिङदेनले बताए ।

लिङदेनका अनुसार पराजुलीले नेपाली र हिन्दी भाषामा दुईखालको आवाज निकालेर ‘यदी मलाई ५० लाख रुपैयाँ दिने हो भने तपाईलाई ज्यान मार्ने मान्छे र रकमको डिल भएको भिडियोसहित जानकारी दिन्छु’ भन्दै ‘ह्वाट्एप’ र मोवाइलमा पटक पटक सम्पर्क गरेका थिए ।

लिङदेनले यस्तो घटना बाहिर आएपछि आफ्ना शुभचिन्तकहरुलाई जानकारी दिएर बास्तविकता थाहा दिन पत्रकार भेटघाट गरेको बताएका छन् ।

घटनामा विभिन्न राजनीतिक र ‘क्रिमिनल’ पृष्ठभूमिका व्यक्तिको संलग्नता भएनभएको प्रहरीले अनुसन्धान गरिरहेको पनि जानकारी दिए । उनले आफ्नो विर्वाचन क्षेत्रका नेता क- कस्को नाम जोडिएको छ भन्ने बारेमा पछि खुलाउने बताए ।

उनले फिरौतीका लागि मात्रै ज्यान लिने भए मसंग नभई अरुसँगै डिल गर्नुपर्ने हुनसक्थ्यो । तर, संलग्न व्यक्तिले गरेको फोन सम्पर्कको आधारमा ‘डिजाइन’को नेतृत्व कस्ले गरिरहेको छ भन्ने गम्भिर आशंका रहेको बताए ।

उनले घटनाको सम्पूर्ण वास्तविकता खुलेपछि मात्रै जाहेरी दिने पनि बताए । सांंसद लिङदेनले पक्राउ परेकालाई गहिरो अनुसन्धान गरि हदैसम्मको कार्वाही गर्न प्रशासन समक्ष माग गरेका छन् ।