नेपालमै पहिलो पटक दिपेन्द प्राविमा मेचे भाषाको पढाई हुने

गोपिन पोखरेल –

विर्तामोड / झापा हल्दिबारी-४ को दिपेन्द्र प्राथमिक विद्यालयमा यो शैक्षिकसत्रदेखि स्थानीय मेचे भाषामा पठनपाठन शुरु हुने भएको छ ।

स्थानीय भाषा संस्कृतीको जगेर्ना गर्ने उदेश्यले शैक्षिकसत्र ७६ देखि मेचे भाषाको पढाई शुरु गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश मेचेले तहल्काखबरलाई जानकारी दिए ।

नेपालमै पहिलो पटक झापाको हल्दिबारी गाँउपालिका वडा नं ४ स्थित जलथलको दिपेन्द प्राविमा मेचे भाषाको पढाई शुरु हुन लागेको हो ।

दिपेन्द्र प्राथमिक विद्यालयमा ९० प्रतिशत मेचे जातीका विद्यार्थीहरु अध्ययन गर्छन् भने १० प्रतिशत अन्य जातीका ।

विद्यालय व्यवस्थापन समितिको आयोजनामा आज सम्पन्न भएको अभिभावक भेलाले मेचे भाषामा अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेको हल्दिबारी वडा नं ४ का वडासदस्य एवम् व्यवस्थापन समिति अध्यक्ष मेचेले जानकारी दिए ।

भेलाले मेचे भाषाको अध्यापनका लागि एकजना शिक्षक नियुक्त गर्ने पनि निर्णय गरेको छ । विद्यालयले यहि शैक्षिकसत्र देखि मेचे भाषाविद् सन्तलाल मेचेले तयार पारेको पाठ्यक्रम पठनपाठन गराउने छ ।

भेलामा सहभागी अभिभावक/तस्वीर: महेश मेचे


भाषा अध्यापनका लागि पाठ्यक्रम तयार भईसकेको र चाँडै नै गाँउपालिकामा हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष मेचेले बताए । गाँउपालिकाले पाठ्यक्रम स्विकृत गरेपछि भाषा कक्षा सञ्चालन हुनेछ ।

गाँउपालिकाले सो विद्यालयमा मेचे भाषाको पठनपाठनका लागि दोस्रो गाँउसभाबाट ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको वडासदस्य मेचेले जानकारी दिएका छन् ।

‘गाँउसभाले गरेको निर्णय कार्यान्वयन स्वरुप भाषा कक्षा सञ्चालन गर्न लागेका हौं’ उनले भने ।

यहि शैक्षिकसत्रदेखि विद्यालयमा कक्षा १ देखि ५ सम्म १/१ पिरिएड मेचे भाषाको पढाई हुने छ ।

विद्यालयले भौतिक संरचना सुधार गर्दै एउटा नयाँ भवन समेत निर्माण गरिसकेको छ । भवन निर्माणको लागि गतवर्ष प्रदेश १ का आन्तरिक मामिला तथा गृहमन्त्री हिक्मत कार्कीले विद्यालयको वार्षिक उत्सवमा शिलान्याश गरेका थिए ।

बिहिबार सम्पन्न भेलाले विद्यालयमा निःशुल्क अंग्रेजी विषयको अध्यापन गराउने, त्यसका लागि १ जना अंग्रेजी शिक्षक नियुक्त गर्ने, एसिसहितको सुविधासम्पन्न भवनमा बाल मन्टेश्वरी कक्षा सञ्चालन गर्ने, ८ देखि १० वटा कम्प्युटर थप गरी कम्प्युटर शिक्षा दिनेलगायत निर्णय गरेको अध्यक्ष मेचेको भनाई छ ।

कार्यक्रममा विद्यालयको वार्षिक रिजल्ट प्रकाशित गर्नुका साथै अभिभावकसँग अन्तर्रक्रिया समेत गरिएको थियो ।

हल्दिबारी गाँउपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीको प्रमुख आतिथ्य एवम् व्यवस्थापन समिति अध्यक्ष मेचेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानध्यापक दिर्धराज आचार्यले गरेका थिए ।