खुल्ला दृष्टिबिहिन कविता बाचन प्रतियोगीतामा मोरंगका गोबिन्द राई प्रथम

विर्तामोड/ प्रदेश नंबर १ स्तरीय खुल्ला दृष्टिबिहिन कविता बाचन प्रतियोगीता तथा ब्रेल लेखन प्रतियोगीतामा मोरंगका गोबिन्द राई प्रथम भएका छन् ।

झापा नेत्रहिन संघको आयोजनामा आज बिर्ताबजारमा सम्पन्न प्रतियोगीतामा धनकुटाका खगेन्द्र तामाङ्ग दोश्रो , मोरङ्गका सौहार्द कोईराला तेश्रो तथा झापाका खेम रेग्मी सान्त्वना पुरष्कारबाट पुरष्कृत भएका छन् ।

नेपालमा ब्रेल लिपी भित्राउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने स्वर्गीय जंग बहादुर बोगटीको स्मृति एबम नयाँ बर्षको सन्दर्भमा आयोजित कविता बाचन प्रतियोगीतामा बिजयी ,सहभागीलाई प्रमाणपत्र एवम नगद पुरष्कार प्रदान गरीएको थियो ।

ब्रेल लिपी र म शिर्षक अन्तर्गत प्रस्तुत गरीएको कविता बाचन प्रतियोगीताको निर्णायक मण्डलीमा शिक्षक खिल प्रसाद शिवाकोटी र उमानाथ भण्डारी रहेका थिए ।

त्यस्तै व्रेल लेखन प्रतियोगीतामा झापाकी अस्मिता शिवाकोटी प्रथम, सुनसरीकी कञ्चना चौधरी दोस्रो तथा सुमिना चौधरी तेस्रो भएका थिए ।

विजयी प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद एकराज कार्की र झापा नेत्रहिन संघका अध्यक्ष दोर्णचार्य निरौलाले सयुक्त रुपमा नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।

संघका झापा उपाध्यक्ष दिपक थापाले स्वागत गरेको कार्यक्रममा खेम रेग्मीले स्वर्गीय जंग बहादुर बोगटीको यगदान र व्यक्तीत्वको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिति एकराज कार्की, आँगन एफएमका स्टेशन मेनेजर रञ्जित प्रसाई, झापाली साहित्य समाजका अध्यक्ष हरि वराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा दृष्टिविहीन विद्यार्थीको लागि छात्रवृत्ती प्रदान गर्ने राजेन्द्र गोयललाई कदर पत्रले सम्मान गरीएको थियो । कार्यक्रममा रोटरी क्लव विर्तामोड मिडटाउनका शनी गोयलले दृष्टिविहीनहरुका लागि ३० थान झुल प्रदान गरेका थिए ।

कार्यक्रमको संचालन झापा नेत्रहिन संघका सचिव चन्द्रप्रसाद भट्टराईले गरेका थिए ।